झापा : आज विश्व सिमसार दिवस । प्रत्येक वर्ष फेव्रुअरी-२ मा विश्व सिमसार दिवस मनाईन्छ । नेपाल जस्तो भुपरिबेष्ठित तर जल सम्पदामा धनी मुलुकका लागि यो महत्वपूर्ण दिन हो । तर धेरै नेपालीहरुले यो दिवस थाहा सम्म पाउँदैनन् ।

सिमसारको संरक्षण र यसको महत्वका बारेमा जनचेतना फैलाउने उद्देश्यले सन् १९७१ को फेब्रुअरी २ तारिखका दिन रामसार महासन्धी भएको थियो । अहिले यो महासन्धीमा ६०० वढी देशहरु सामेल भएका छन् । यसैको सम्झनामा सिमसार दिवस मनाउने गरिएको हो । औपचारीक रुपमा नेपाल सन् १९८७ मा यस महासन्धीको सदस्य भएको हो भने सन् १९९१ देखि नेपालले यो दिवस मनाउन थालेको हो ।

नेपालमा रहेका ५ हजार ३ सय ५८ वटा ताललाई सिमसारका रुपमा राखेर संरक्षण गर्ने अभियान समेत सञ्चालन गरिएको छ । नेपालमा २ हजार ३ सय २३ हिमताल, ५ हजार जलाधार, १ हजार ३ सय ८० पोखरी र ५ हजार १ सय ८३  तलैया रहेका छन् । ठूल्ठूला प्रकोपबाट बचाउन सिमसार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । सिमसार भित्र जल परिचालन र शुद्धीकरण निरन्तर चलिरहने भएकाले पनि यसलाई प्रकृतिको मिर्गाैलाका रुपमा समेत लिने गरिएको सिमसार संरक्षणकर्मीहरु बताउछन् ।

पछिल्लो समयमा त सिमसारहरु पर्यटन प्रर्बधनका मुख्य आधार पनि बन्दै गएका छन् । पूर्वी नेपालमा मात्र एक दर्जन भन्दा बढि सिमसारहरु प्रमुख पर्यटकिय गन्तव्यका रुपमा विकास भएका छन् । त्यसैले सिमसार पर्यावरणका लागि मात्र नभई पर्यटनका लागि समेत उपयोगी हुने प्रमाणित भई सकेको छ । पछिल्ला वर्षहरुमा पृथ्वीका धेरैजसो सिमसार क्षेत्रहरु लोप हुने क्रममा छ, यस्ता अधिकांश सिमसार क्षेत्रहरु एसियामा पर्दछन ।

नेपालले पनि सिमसारक्षेत्रका यिनै महत्वलाई आत्मसाथ गर्दै विसं २०५९ सालमा ल्याएको सिमसार संरक्षण नितीलाई २०६९ सालमा परिमार्जन र स्वीकृती दिएको छ तर पनि नेपालका सिमसार क्षेत्रहरु जोखिममै छन् । त्यसैले यस्ता दिवश र सन्दर्भहरुमा मात्र औपचारीक कार्यक्रम गरेर सिमसारको अस्तित्व जोगाउन गाह्रो छ । यसका लागि भएका नीतिको प्रभावकारी कार्यान्वयन र सामुदायीक साथ लिन आवश्यक छ ।