धरान (डेस्क) : आज बुधबारदेखि विराटनगरबाट पनि पुनः श्रम स्वीकृति दिने भएको छ । पुनः श्रम स्वीकृतिको सेवा सम्बन्धित प्रदेशबाटै दिने सरकारको निर्णय अनुसार सरकारले प्रदेश १ को विराटनगरबाट पुनः श्रम स्वीकृति दिन लागेको हो ।

विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यालयबाट सेवा सुरु गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
यसका लागि प्राविधिकसहित सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ । योसँगै ७ वटै प्रदेशका नागरिकले पुनः श्रम स्वीकृतिका लागि काठमाण्डौ पुग्नुपर्ने बाध्यता हटेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसअघि प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ५ को बुटवल, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट सेवा उपलब्ध गराउन थालिसकेको छ ।