इटहरी: इटहरी २ स्थित महेन्द्र माविलाई पुर्वविद्यार्थीहरुले पंखा सहयोग गरेका छन् ।

आईतबार यहाँको विद्यालयमा पाथिभरा एड्भरटाइजिङ प्रालि इटहरीका प्रमुख पवन अधिकारीसहित २०५९ को एसएलसी ब्याचले २२ थान पंखा हस्तान्तरण गरेको हो । विद्यालयका प्रधानाध्यापक चिरञ्जीवि भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम धमला (रामजी)लाई संयुक्त रुपमा पंखा हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै पाथिभरा एड्भरटाइजिङ प्रालिका अध्यक्ष अधिकारीले विद्यार्थीहरु गर्मीको समयमा पनि अभावमा पढ्दै आएकाले आफूहरुले पंखा सहयोग गरेको बताए । उनले भने,‘विद्यार्थीहरुलाई गर्मीमा समस्या छ, त्यसैले पंखा सहयोग गरेका हौं । यसले उत्साहका साथ पढ्ने जोश आउने आशा गरेका छौ ।’

२०५९ एसएलसी ब्याचका गणेश निरौलाका अनुसार अन्य १० थान घढी समेत प्रदान गर्न लागिएको छ । यहाँ रहेका समस्यालाई आफूहरुले न्यूनिकरण गर्न लागि पर्ने उनले बताए । विद्यालयका प्रधानाध्यापक चिरञ्जीवि भट्टराईले यसअघि विद्यार्थीहरु गर्मीमा पढ्नुपरेको बताउँदै अब भने सहज हुने बताए । उनले भने,‘यसअघि म स्वयम्ले धेरैतिर प्रपोजल हालेको थिए, अब भने विद्यार्थीलाई सहज हुने भयो, खुशी लाग्यो ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धमलाले पंखा सहयोग गर्नु देखाउन र नाम कमाउनका लागि मात्रै नभई विद्यार्थीको मनोभावनालाई महसुस गरेका कारण सहयोग गर्नु अनुकरणीय रहेको तर्क गरे । पाथिभरा एड्भरटाईजिङले यसअघि पनि उक्त विद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेको थियो ।