धरान(डेस्क) : प्रकृतिकपूजक किरात समुदायले आज उभौली पर्व मनाउदै छन् । प्रत्येक वर्ष चण्डिपूर्णिदेखि किरातले भव्य रूपमा किराती रितिअनुसार भूमिपूजा गरी उभौली चाड चण्डी नाच नार्दै एक महिनासम्म मनाउने गर्छन् ।
किरातीहरू प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष यो पर्व मनाइन्छ । किरातहरूको यो पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । यो पर्व ऋतु परिवर्तनको संकेत दिने पर्व पनि हो ।
वसन्त ऋतुमा पर्ने उभौलीमा साकेला चण्डी नाच नाचिन्छ । नाचमार्फत् प्रकृतिको आराधना गर्ने गरिन्छ । चण्डी नाच नाचिने भएकाले यो दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।
यो दिनलाई सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन मानिन्छ । उभौली पर्व मौसमसँग सम्बन्धित छ । अन्नबाली सप्रियोस्, खाद्यान्नको कमी नहोस् र सुखशान्ति प्राप्त होस् भन्ने उद्देश्यका साथ यो पर्व मनाउने गरिन्छ । किरात जातिले वैशाख शुक्ल पूर्णिमादेखि १ महिनासम्म यो पर्व मनाउने गर्दछन् ।