इटहरी: नेपाल पत्रकार महासंघ सुनसरीलाई इटहरी उपमहानगरपालिकाले भवन निर्माणका लागि जग्गा दिएको छ ।

मंगलबार पत्रकार महासंघलाई उपमहानगरपालिकाले जग्गा दिने कार्यपालिकाको बैठकले निर्णय गरेको हो । इटहरी ५ मा रहेको प्याब्सन सुनसरीको कार्यालयको अगाडि २७ धुर जग्गा उपलब्ध गराउने निर्णय गरिएको मेयर द्धारिकलाल चौधरीले बताए । ‘रात गए अग्राख पलाउँछ भन्छन्,’उनले भने,‘हिजो बोले, आज निर्णय गरिदिएँ । कतिपय काम गोप्य रुपमा नै गर्नुपर्छ ।’

मेयर चौधरीले आँफूले जुन काममा हात हालेको छ, त्यो पूरा गरेरै छाड्ने प्रतिबद्धता समेत जनाए । ‘हाम्रो १० वटा वडा कार्यालय अहिले पनि भाडामा चलेको छ,’उनले भने,‘कत्रो भवन बनाउँनुहुन्छ, मेरो तर्फबाट ढुंगा, इट्टा र सिमेन्ट दिने घोषणा गर्दछु ।’ उनले आफ्नो सामथ्र्यले भ्याएसम्म मात्रै बोल्ने बताए ।

मंगलबार पत्रकार सम्मेलनमार्फत बोल्दै उपमेयर लक्ष्मी गौतमले भोग अधिकारका लागि आफूहरुले संघीय सरकारलाई सिफारिस गर्ने भएको भएपनि कार्यपालिकाको बैठकबाट उक्त जग्गा महासंघलाई दिने निर्णय भएकाले भवन बनाउन सुरु गर्नुपर्ने बताईन् । उनले भनिन्,‘सञ्चार क्षेत्रलाई हामीले सम्मान गरेका छौं, यो भवनलाई प्रदेशस्तरीय बनाउँन आवश्यक छ ।’

कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष कृष्णबिनोद लम्सालले आफ्नो तर्फबाट महासंघको भवन बनाउँनका लागि नगद ५० हजार रुपैँया सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले इटहरी प्रदेशको केन्द्र भएको कारण आधुनिक भवन बनाउनुपर्नेमा जोडदिए । ‘मैले यत्रो बर्ष पत्रकारिता गरे, अहिले आएर इटहरीमै महासंघको भवन बन्ने कुराले खुशी छु,’उनले भने । पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले ऐतिहासिक दिन रहेको उल्लेख गर्दै चाडै भवन निमार्णको काम सुरु गर्ने बताए । उनले भने,‘पत्रकारहरुका लागि सुनसरी अलिक पृथक जिल्ला हो, हामी भवन बनाउनका लागि अब लागि पछौं ।’