हङकङमा १० हप्तादेखि जारी विरोध प्रदर्शनका कारण दोस्रो दिन पनि विमानस्थलबाट हुने उडान प्रभावित भएका छन् । प्रदर्शनकारीहरु प्रस्थान क्षेत्रमा बसेका कारण यात्रुहरुलाई विमानस्थल प्रवेश गर्न अफ्ठेरो भएको बीबीसीले जनाएको छ । विश्वको व्यस्त मध्येको एक मानिने उक्त विमानस्थलमा २ दिनदेखि निरन्तर प्रदर्शन हुँदै आएको छ ।

अधिकारीहरूले प्रदर्शनकारीलाई सचेत गराउँदा गराउँदै पनि विमानस्थलमा भिड जम्मा भएको थियो । प्रदर्शनकारीहरूले लगेज बोकिने ट्रलीहरू प्रयोग गरेर अवरोध गरेको समाचारमा जनाइएको छ । विमानस्थलको वेबसाइटमा राखिएको विज्ञप्तीमा यात्रुहरूलाई छिटोभन्दा छिटो टर्मिनल भवन छाड्न सुझाइएको थियो ।

हङकङमा भइरहेको प्रदर्शनमा अत्याधिक बल प्रयोग गरेर दमन भइरहेको भन्दै संयुक्त राष्ट्रसंघको मानवअधिकार प्रमुख मिचेल बोक्चेलेटले घटनाबारे स्वतन्त्र रुपमा छानविन हुनुपर्ने प्रतिक्रिया दिएका छन् । हङ्कङको राजनीतिक संकट अझै चलिरहँदा बेइजिङले हस्तक्षेप गर्ने चेतावनी दिएको छ ।