१, डन्डिफोरले छालाको सुन्दरतामा कमी ल्याउँछ । त्यसैले डन्डिफोर निको पार्न विभिन्न प्रकारका औषधि प्रयोग गरिन्छ । कतिपयलाई निको हुन्छ, कतिपयलाई जतिसुकै प्रयास गरे पनि हुन्न । तर, औषधिले निको भएन भन्दैमा निराश हुनुपर्ने कारण छैन, घरेलु विधिबाट पनि यसको समाधान खोज्न सकिन्छ ।
२, जहाँ पनि पाउन सकिन्छ मह । यसले अनुहारमा भएका डन्डिफोरलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छ । तर, यसबारे धेरैलाई उति धेरै थाहा नहुन सक्छ । तपाईंको अनुहारमा जुन ठाउँमा डन्डिफोर छ, त्यो ठाउँमा मह दल्नुहोस् । झन्डै १० मिनेटजति राखेर सफा पानीले धुनुहोस् । डन्डिफोरको समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।
३, केरा खान मात्रै होइन, अरू हिसाबले पनि गुणकारी फल मानिन्छ । केरालाई मुछेर अनुहारमा दल्न सक्नुहुन्छ । यसबाहेक मह, दहीसँग मिसाएर पनि लगाउन सक्नुहुन्छ । लगाएको केही समयपछि पानीले धुनुपर्छ ।
४, एक कप पानीमा ल्वाङ राखेर उमाल्नुहोस् । उमालिसकेपछि केहीबेर राखेर चिस्याउनुहोस् र ल्वाङलाई मिचेर डन्डिफोर आएको ठाउँमा दल्नुहोस् । झन्डै आधा घन्टा राखेर चिसो पानीले धुनुहोस् ।
५, सायद यो कुरा धेरैलाई थाहा छ, डन्डिफोर आएको छ भने कागतीको रस लगाउनुपर्छ । तर, ध्यान दिनुहोस्, कागतीको रस सीधै अनुहारमा लगाउँदा पोल्ने डर हुन सक्छ । त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुहोस् ।
६, गोलभेँडाको मद्दतबाट पनि डन्डिफोर हटाउन सकिन्छ । गोलभेँडाको रसलाई डन्डिफोर आएको ठाउँमा लगाएर झन्डै आधा घन्टापछि सफा पानीले धुनुभयो भने डन्डिफोर हराउँछ ।