इनरुवा : सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ४ कुसाहामा जंगली हात्तीको आक्रमणबाट १ जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार राति ११ बजे हात्तीले आक्रमण गर्दा ४० वर्षीय सुरेन्द्र यादव गम्भीर घाइते भएको हो । यादवलाई कोशीटप्पु वन्यजन्तु आरक्षणबाट ४, ५ वटा समूहमा निस्किएको जंगली हात्तीले आक्रमण गरेको थियो ।

आक्रमणबाट घाइते भएका यादवलाई इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले उद्दार गरी विराटनगर न्युरो अस्पताल पठाएको थियो । उक्त अस्पतालमा एक्सरे गरेपछि १२ वटा हड्डी भाचिएको अस्पतालले जानकारी दिएको छ । यहाँ उपचार हुने नसक्ने न्युरो अस्पतालले रिफर गरेपछि घाइते यादवलाई धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरि उपचार भईरहेको वडाअध्यक्ष सुलेमान मंसुरीले जानकारी दिए ।

उक्त जंगली हात्तीलाई प्रहरी र स्थानीयको सहयोगमा वन्यजन्तु आरक्षण केन्द्रतर्फ लखेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।