धरान : लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ चैत्र ११ गते धरानमा प्रदर्शन हुने भएको छ ।

चैत्र देखि नेपालको पूर्वी जिल्लाहरूमा चलचित्र प्रदर्शन हुने चलचित्रका निर्माता तथा सङ्गीतकार मनि ताम्लिङले जानकारी दिएका छन् । जस अनुसार चैत्र ११ गते धरानको गणेश टाकिजमा प्रदर्शन गर्न लागिएको हो ।

सिक्किम युनिभर्सिटीको ग्र्याजुएसन लेभलमा अध्यापन भइरहेको उपन्यास ‘थेत्लङ’ देउमान लिम्बू होन्दोकुले लेखेका हुन् ।

उक्त उपन्यासलाई वरिष्ठ चलचित्र निर्देशक तथा लेखक सागर केरुङले पटकथा, संवाद र किशोर सुब्बाले निर्देशन गरेका छन् । चलचित्र सिक्किमको रमणीय स्थलहरूमा छायाङ्कन गरिएको छ ।

सिक्किम र काठमाडौँमा सफल प्रदर्शन भइसकेको चलचित्रले विभिन्न स्थानमा प्रदर्शन हुने तयारी हुँदाहुँदै विश्वव्यापी कोरोना महामारीका कारण स्थगित भएको थियो ।

प्रदर्शन पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङका विभिन्न सहरमा प्रदर्शन हुने भएको हो । चलचित्र लिम्बू भाषामा भए पनि आधुनिक कथामा रहेको छ ।

चलचित्रमा विशाल सेनेहाङ, दिव्या सुब्बा, सङ्गीता सम्बाहाम्फे, शर्मिला यक्सो, मुनाहाङ लिम्बू, शान्ति सुब्बा लगायतले अभिनय गरेका छन् ।

सिक्किममा बसोबास गर्ने लिम्बू जातिको जीवनशैलीमा आधारित कथा रहेको चलचित्रमा नृत्य निर्देशन दिनेश माङ्मु, सङ्गीत कुल्बा सुब्बा, राजु आङ्देम्बे, मनि ताम्लिङ र पविन आङ्देम्बेले गरेका छन् भने निर्देशन किशोर सुब्बाको रहेको छ ।