धरान : सुनसरीको लौकही क्षेत्रको भोक्राहा नरसिंह–३ र ६ को सिमाना खुनिया खोला पुलमा गए राति भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । 

पश्चिमबाट पूर्व तर्फ आँउदै गरेको ना ५ ख २९९६ नं. को सिमेन्ट बोकेको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नं. को काँकडभिट्टा काठमाडौँ चल्ने यात्रुवाहक बस आपसमा जुध्दा आगलागी समेत भएको थियो ।  आगो नियन्त्रण गरेर राति साढे १० बजे मात्रै पूर्वपश्चिम सडक सुचारु भएको थियो ।

दुर्घटनामा परि मृत्यु हुनेमा बस चालक पाँचथर घर भएको उमेर नखुलेको सुरेन राई, बसमा सबार तत्काल नाम थर वतन नखुलेको एक पुरुष, ट्रक चालक तत्काल नाम थर वतन नखुलेका एक पुरुष रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

सो दुर्घटनामा परि १३ जना घाइते भएका छन् । बसको कन्डक्टर झापा मेचीनगरपालिका ४ बस्ने वर्ष ३६ को रबिन ढुङ्गेल, मोरङ सुन्दर हरैचा ९ बस्ने वर्ष २२ को विक्रम कटवाल बसमा सबार दोलखा बिगु ७ बस्ने वर्ष ५६ को मिङमा शेर्पा,  बारा निजगढ ९ बस्ने वर्ष ४० को दीपक श्रेष्ठ बसको सहचालक उदयपुर चौदण्डीगढी ४ बस्ने वर्ष २२ को दिल कुमार बिक, बसमा सबार महोत्तरी मठियानी ६ बस्ने वर्ष २९ को राहुल कुमार मण्डल, काठमाडौँ ३० बस्ने वर्ष ५० को सादकन मिया, भारत बस्ने वर्ष ४२ की मुना प्रधान, वर्ष ६० को उमेश लामा वर्ष ६५ की अमृता लामा, बसमा सबार पाँचथर फिदिम १० बस्ने वर्ष ३८ को पेवाहाङ जगेबु, तेह्रथुम दाङगापा ९ बस्ने वर्ष ३३ को जित बहादुर लिम्बु र इलाम माई नगरपालिका ४ बस्ने वर्ष ४४ को गोपाल दाहाल घाइते भएका छन् । उनीहरूको विराटनगरको नोबेल र न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ ।