धरान : धरान उपमहानगरपालिकामा दाखिल गर्नुपर्ने बहाल कर ढिलो भएमा असुल गर्ने जरिवानाको अवधि छुट गर्ने भएको छ ।
घर बहालमा लगाउनेहरूले बुझाउनु पर्ने बहाल कर विलम्ब जरिवाना अवधि बढाइने भएको हो । उपमहानगरपालिकाको आज शुक्रवार बस्ने दसौँ नगरसभाले जरिवाना सम्बन्धी संशोधन प्रस्ताव पारित गर्ने भएको छ ।
उपमहानगरपालिकाको नवौँ नगर सभाबाट स्वीकृत आर्थिक ऐन २०७८ को दफा १७ मा भएको छुट सम्बन्धी व्यवस्थाको १ को ४ मा संशोधन गरी अवधि बढाइने भएको हो । ऐन अनुसार नगरपालिकामा दाखिला गर्न बाँकी बहाल कर गत असोज मसान्त सम्म जरिवाना छुट दिने व्यवस्था छ । ऐन संशोधन भएपछि आगामी चैत्र मसान्तसम्म जरिवाना छुट हुनेछ ।
जरिवाना छुटको अवधि बढाउने व्यवस्था गर्न ऐनमा संशोधन गर्ने निर्णय बिहीबार बसेको उपमहानगर कार्यपालिका बैठकले गरेको मेयर तिलक राईले बताए । नगर सभा वीपी प्रतिष्ठानको अडोटेरिएम हलमा सुरु हुँदै छ ।
नगर सभामा अघिल्लो सभाले अनुमान गरेभन्दा आन्तरिक आय न्यून भएकाले त्यसबाट खर्च हुने कार्यक्रम योजनाहरूको बजेटमा १० प्रतिशत कटौती गर्ने प्रस्ताव प्रस्तुत हुनेछ । नवौँ नगर सभाबाट स्वीकृत विनियोजन ऐन २०७८ मा चालु आर्थिक वर्षका लागि अनुमान गरेको आन्तरिक आय अनुमानको तुलनामा सङ्कलन न्यून भएको हो ।
प्रस्तावित अनुमान गरिएका आन्तरिक आय सङ्कलन हुने सम्भावना नरहेकोले आन्तरिक आयबाट खर्च हुने गरी स्वीकृत गरिएका कार्यक्रम तथा योजनाहरूमा १० प्रतिशत घटाएर नगर सभामा पेस गर्ने कार्यपालिका बैठकले निर्णय गरेको हो ।
नगर सभामा कानुन मस्यौदा समितिबाट समेत सिफारिस भई आएका शिक्षा विधेयक २०७८ पेस गरिने छ । नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहहरूलाई प्रदान गरिएको आधारभूत तथा माध्यमिक शिक्षा लगायत शैक्षिक कार्यक्रमहरूको व्यवस्थापन तथा सञ्चालन गर्न आवश्यक कानुन स्थानीय सरकारले बनाउने अधिकार छ ।
नगर सभामा सार्वजनिक सुनुवाइ कार्यविधि २०७८ स्वीकृत, पदाधिकारीहरूको आचार संहिता २०७८ स्वीकृत, सार्वजनिक निजी साझेदारी विधेयक २०७८ नगर सभामा पेस गरिने छ ।