धरान : राजनीतिक क्षेत्रमा लामो समयदेखि निरन्तर क्रियाशील रहेका पदम लिम्बू इस्वो २०५६ सालदेखि निरन्तर ११ वर्ष सम्म धरान नगर कमिटीको सदस्यमा रहेर २०६८ सालदेखि जिल्ला कमिटीमा रहँदै हाल नेकपा एमाले सुनसरी जिल्ला सदस्य एवम् क्षेत्रीय सह-संयोजकको जिम्मेवारीमा  रहेका छन् । २०४० सालदेखि विद्यार्थी राजनीतिमा  लागेका इस्वोले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट धरानको उपमेयरमा उम्मेदवारी दिएका छन्। इस्वो २०५४ सालको स्थानीय निकायको निर्वाचनमा १९ नं. वडाको  निर्वाचित वडाध्यक्ष भएका थिए। नगरको विकासमा जनताको प्रत्यक्ष सहभागिता हुनु पर्छ भनेर धरानले  चलाएको अभियानमा इस्वो पनि सामेल रहेका थिए। 
तेह्रथुम जिल्लाको आठराई गाउँपालिका, साविक चुहाँनडाँडा गाविसबाट २०४० सालदेखि राजनीतिक यात्रा सुरु गरेका इस्वो तेह्रथुम जिल्लाकै शारदा माविमा अध्ययन गर्ने क्रममा अनेरास्ववियूबाट‌ आफ्नो पहिलो राजनीतिक यात्रा सुरु गरेका हुन् । विद्यार्थी कालदेखि नै विद्यार्थीहरूको हक हित र अधिकारको आवाजलाई बुलन्द गर्दै अघि बढेका उनी विसं २०४२ सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययन गर्ने शीलशीलमा धरान आइ क्याम्पसमा अध्ययनका साथै अनेरास्ववियू सह प्रारम्भिक कमिटीमा आबद्ध रहेर राजनीतिक यात्रालाई थप अघि बढाए । २०४६ सालमा अनेरास्ववियू तेह्रथुम धरान सम्पर्क मञ्चको उपाध्यक्ष भएर विद्यार्थीकै हक हितमा काम गरेका थिए । 
नेकपा एमालेको छाता सङ्गठन राष्ट्रिय युवा सङ्घ सुनसरीको २ कार्यकाल अध्यक्ष भएर नेतृत्व  गर्ने क्रममा जिल्ला सङ्गठनलाई नेपालकै उत्कृष्ट जिल्ला बनाउन सफल सम्मानित भएका थिए । युवा सङ्घ नेपालको केन्द्रीय सचिवालय सदस्य एवम् कोसी अञ्चल इन्चार्ज, यूथ फोर्स नेपालको पूर्वाञ्चल सहसंयोजक भएर राजनीति क्षेत्रको उचाइमा स्थापित इस्वो युवा किसान महासङ्घको केन्द्रीय उपाध्यक्ष, किसान महासङ्घको राष्ट्रिय सदस्य र सुनसरी इन्चार्ज रहेर युवा किसानहरूको नेतृत्व समेत गरेका छन् । उनी २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका  इस्वोलाई प्रहरीले पक्राउ समेत गरेको थियो ।
२०५१ सालदेखि नेकपा एमाले १९ नं वडा कमिटीको सचिव भएर पार्टीको काममा सक्रिय भएका इस्वो २ कार्यकाल वडा सचिवको भूमिका निर्वाह गरी २०५४ सालमा स्थानीय निकायको निर्वाचनमा वडाध्यक्षमा विजयी भए । तत्कालीन समयमा धरानको कान्छो वडाध्यक्षको रूपमा परिचित भएका उनी आफ्नो कार्यकालमा धरान नगरभित्र पहिलो पटक वडा समितिको आफ्नै वडा कार्यालय स्थापना गरी सञ्चालन गर्ने पहिलो वडाध्यक्ष समेत भए। 
padam-iswa-2अध्यापकदेखि  अधिवक्ता सम्म 
इस्बोले २०४८ सालदेखि ६ वर्ष  किराँतेश्वर निमाविमा अध्यापन गराए। त्यसैगरि २०५१ सालदेखि ३ वर्ष सम्म महेन्द्र बहुमुखी क्याम्पस धरानमा पनि उनले अध्यापन गराए। अर्थात् सामाजिक, शैक्षिक, राजनीतिक, खेलकुद लगायतको क्षेत्रमा उनको लामो अनुभव छ रहेको छ। धरान कानुन व्यवसायी क्ल्वको संस्थापक उपाध्यक्ष रहेका इस्वो २३ वर्षदेखि निरन्तर कानुनी पैरवी गर्दै आइरहेका छन् । नेपाल बार एसोसिएसन केन्द्रीय परिषद्को सदस्य समेत रहेका इस्वो कानुन व्यवसायी  रहँदा गरिबी तथा छुवाछुत विरुद्धको क्षेत्रमा निःशुल्क सेवा प्रदान गरेका थिए। 
धरानको खेलकुद विकासमा इस्वो
२०५५ सालमा धरान फु्टवल क्लबको संस्थापक सदस्य समेत रहेका इस्वो  धरान फुटबल क्लबको विधान तथा स्वागत गीतका रचनाकार समेत हुन्। विसं २०६३ सालमा खेलकुद विकास समिति सुनसरीको अध्यक्ष बन्न सफल भएका पछि त्यही कार्यकालमा कोसी अञ्चल खेलकुद विकास समितिको नाममा रहेको अचल सम्पत्ति  धरान रङ्गशालाको जग्गा तथा धरान-१० को कवर्ड हलको जग्गालाई जिल्ला खेलकुद विकास समितिको नाममा ल्याउन सफल भए।  
विजयी पस्चात इमानदार भई काम गर्ने, धरानको विकास, सुखी धरान र समृद्ध धरान बनाउनलाई धराने जनताको चाहना अनुसार गर्ने, धरानको दिगो विकास,  खानेपानी समस्याको समाधान र शिक्षा, स्वास्थ्य पर्यटनको क्षेत्रका विशेष योजना बनाउने र धरानलाई समृद्ध सहर बनाउनको लागि कटिबद्ध रहने उनले बताए ।