वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनले धरान उपमहानगर पनि तातेको छ । तीन दशक देखि एमालेले आफ्नो लाल किल्ला भन्दै लुट मच्चाएको धरानमा तत्कालीन मेयर तारा सुब्बाको देहवासन पछि उपनिर्वाचन मार्फत नेपाली काँग्रेसका युवा नेता तिलक राईले लाल किल्लाको अस्तित्व समाप्त गरिदिए । नेकपा एमालेबाट मेयरका उम्मेदवार प्रकाश राईले चुनाव जित्न नसकेपछि विभिन्न टिकाटिप्णीहरु भए । धेरैले एमालेको लौरो उठाउँदा पनि जित्छौ भन्ने मानसिकता र एमालेबाट निर्वाचित मञ्जु भण्डारी सुबेदीको रुखो कार्यशैलीलाई हारको कारणको रूपमा औँल्याए । एक थरी जमातले एमाले र माओवादी केन्द्रको एकीकरणबाट बेनेको नेपाल कम्युनिस्ट पार्टी भित्र माओवादी खेमाले धोका दिएको मत राखे । तर एउटा तितो सत्य चाहिँ यो हो की धराने जनताले एमालेबाट आजित भएर धरानको नेतृत्व परिवर्तन गरेकै हो। 
उपनिर्वाचनबाट निर्वाचित मेयरको पनि केही आलोचना र प्रशंसा दुवै भइरहेकै छन् । तिलक राईले उपनिर्वाचनमा मत माग्दा तीन मुद्दालाई जोड दिएको थिए । एमालेले मजदुरको ढाड सेक्ने गरी बढाएको करको समायोजन, नगरपालिका भित्र रहेको बेथितिको अन्त्य, भष्टचार गर्दिन र गर्न दिन्न । नगरपालिका प्रवेश गरेकै दिन कर समायोजन गर्ने निर्णयले प्रशंसा पनि पायो । धरानको जल्दो बल्दो समस्या खानेपानीको समस्या पनि समाधान गर्ने प्रतिबद्धता पनि जाहेर गरे । तिलक राई मेयर भएको केही महिना पछि विश्वले नै महामारीको रूपमा कोभिड-१९ को सामना गर्नु पर्‍यो । कोभिडको समयमा गरेको कार्यमा मेयर तिलक राई उपमेयर मञ्जु भण्डारीलाई दोष लगाउने कुनै ठाउँ छैन उक्त समयमा गरेको कार्यमा दुवैको प्रशंसा गर्नै पर्छ । खानेपानीको विषयमा दुवै प्रति आलोचना र आक्रोश अहिले पनि छ । खानेपानीको समस्या केही सुधार भएको मेयर तिलक राईको भनाई छ तर विगतको जस्तो विकराल समस्या नभएको र पूर्ण रूपमा समाधान नभएको सत्य हो । विगतमा आधा घण्टामा त्र धारामा पानी आउँथ्यो भने अहिले डेढ घण्टा आउदैछ । सङ्घीय सरकारबाट बजेट माग भएको र सो बजेट आए पछि अझ सहज हुने मेयर तिलक राईले केहिदिन अगाडि पत्रकार सम्मेलन गरेर नै बताएका थिए । अहिले संस्थानका सबै पुराना संरचना वेल तथा बुस्टरको तीव्र रूपमा मर्मत कार्य भइरहेकाले केही पानी वितरणमा समस्या आएको समाचारहरू आएका छन् । चुनावको मुखमा पानी नआउँदा एमालेलाई गल्ती देखाएर आरोप लगाउन पानी नदिएको भनी टीकाटिप्पणी हुने गरेको छ ।
पाँच बर्से कार्यकालमा उपमेयर र कार्यकारी मेयरको अनुभव लिएकी हाल मेयर पदकी उम्मेदवार मञ्जु भण्डारीले खानेपानी समस्याको समाधानको गुरुयोजना जनतालाई चित बुझ्दो नभएको बताए पनि एमालेले धरानमा तीन दशक सत्ता चलाएको भएपनी खानेपानीको समस्या उस्तै छ अब एमालेबाट खानेपानी समस्याको निकास ननिस्कने कुरा सामाजिक सञ्जालमा टीकाटिप्पणीको रूपमा छरपस्ट छ । एक पटक टेस्ट भई सकेकोलाई फेरि मत दिन धराने मतदाता तयार छैनन् । धरानमा विवादित उपमेयरले मेयरको टिकट पाए पछि एमाले भित्र पनि अत्यधिक असन्तुष्टि देखिएको छ । भण्डारीले मेयरको टिकट पाए पछि एमाले नेता मनोज मेन्याङम्बोले त फेसबुक मार्फत कडा आपत्ति जनाए । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जनताबाट ५ वर्ष सरकार चलाउन दिएको मतलाई लत्याएर बिचैमा दुई पटक जनताको मतबाट बनेको प्रतिनिधि सभा विगठन गरेपछि देशका राजनैतिक शक्ति दुई धुर्बमा विभाजित भए । पहिलो पक्ष प्रतिनिधि सभाको रक्षा गर्न र दोस्रो पक्ष प्रतिनिधि सभा भङ्ग गर्न । प्रतिनिधि सभाको रक्षा गर्नको निमित्त बनेको पाँच दलीय गठबन्धनले साझा मेयरका उम्मेदवार नेपाली काँग्रेस धरानबाट किशोर राईलाई बनाएको छ । धरानमा खेलकुद क्षेत्रमा फुटबल भने पछि किशोर राईको नाम नै आउँछ । धरान रङ्गशाला निर्माणका लागि जेल समेत बसेका उनको चर्चा सञ्चार माध्यमहरूमा प्रशस्तै छ । 
धरानमा खानेपानी आयोजना ल्याउनु पर्छ भनेर नेतृत्व गर्ने नाम पनि किशोर राईकै आउँछ । मत माग्दै जनताको पानीको प्रश्नमा म मेयर भए पछि अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि पानीमा लगानी गर्छु भन्ने तर्कमा आसावादी छन् मतदाताहरू । धरान नगरपालिकाको नेतृत्वका लागि फ्रेस उम्मेदवार किशोर राई कै चर्चा छ । माओवादीले रुखमा भोट हाल्दैन काँग्रेसले हँसिया हथौडामा भोट हाल्दैन भन्दै एमाले कार्यकर्ताहरू आफ्नो प्रचार छोडेर कुप्रचारमा व्यस्त छन् । काँग्रेस र एमालेले भोट नहालेको भए संविधान सभाको निर्वाचनमा माओवादी ठुलो पार्टी हुने थिएन । धरानको उपनिर्वाचनमा एमाले र माओवादीले रुखमा भोट नहालेको भए तिलक राईले जित्ने थिएनन् । गर्ने मान्छेलाई मेयर बनाउन धराने जनताले जुनसुकै चुनाव चिन्हमा मत हाल्न तयार छन् । एमालेबाट धरानको मेयर पदको उम्मेदवार रहेकी मञ्जु भण्डारी असफल र टेस्टेड भइसकेको तथा उनी अत्यन्तै विवादित भएकी र उनको पार्टी भित्र दस बुँदे समूहको पनि असहयोग कै कारण गठबन्धनकै उम्मेदवारले जित्ने निश्चित देखिन्छ । 
स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्ग चर्चामा रहे पनि दलीय व्यवस्था भन्दा बाहिरी नेतृत्वको पक्षमा धराने जनमत खासै देखिँदैन । धरानको बजेट आफैमा घाटाको बजेट छ । धरानमा खानेपानी योजनाको पूर्ण सञ्चालनकालागी केन्द्र सरकारको बजेट नै चाहिन्छ त्यो हर्कराजको लागि एकादेशको कथा हुनेछ । समस्या देखाएर चर्चामा आएको मान्छेकालागी समाधान गर्न चर्चामा आउन जस्तो सजिलो हुने देखिँदैन।
यो लेखकको निजी विचार हो ।