धरान :धरानको मुख्य खानेपानी मुहान खर्दु मुहान क्षेत्रको आपगाछीमा धरान उपमहानगरपालिकाको नगर प्रहरीले नगर प्रहरी विट स्थापना गरेको छ ।
कपुरी न्युजमा 'खानेपानी मुहानमा खटिने सुरक्षाकर्मीहरुलाई पानी पर्दा छैन ओत लाग्ने ठाउँ' शिर्षकमा समाचार प्रकाशन भएको थियो । त्यसको केही दिन पछि धरान-८ सभागृहमा रहेको नगर प्रहरीको विट खानेपानी मुहानमा खटिने सुरक्षाकर्मीहरूको ओत लाग्ने स्थानको रुपमा आँपगाछीमा स्थापना गरिएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए ।
सो विट बनाउन ५० हजार लागेको बताइएको छ। नगर प्रहरी प्रमुख कोइरालाका अनुसार खानेपानी मुहान क्षेत्रमा अहिले दैनिक ८ जना नेपाल प्रहरी र नगर प्रहरी डिउटीमा खटिने गर्दछन् । उनीहरूलाई पानी पर्दा ओत लाग्ने ठाउँ नभएकोले सो विट त्यहाँ स्थापना गरिएको हो । जसो तसो ओत लाग्ने ठाउँ त बन्यो तर अझै शौचालय नहुँदा डिउटीमा खटिनेहरूलाई शौच गर्न समस्या हुने गरेको छ। 
धरान-भेडेटार सडक खण्ड क्षेत्रको आपगाछी नजिकै खानेपानीको मुहान पर्ने भएकोले विगतमा सो क्षेत्रमा सवारी साधनहरू रोकेर दिशा पिसाब गर्ने गराउने गरिन्थ्यो । पछिल्लो समय सो क्षेत्रमा संयुक्त सुरक्षा टोली खटिए पछि आपगाछी क्षेत्र पनि सफा हुन थालेको छ । अझै पनि दिशा पिसाब गर्न गाडी रोक्ने गरिएकोले अव तत्कालै सो क्षेत्रमा नो पार्किङको बोर्ड राख्ने तयारी भइरहेको नगर प्रहरी प्रमुख कोइरालाले बताए । यो सँगै सुरक्षाकर्मीहरूका लागि शौचालय तत्काल निर्माण हुनुपर्ने पनि उनले बताए ।