इटहरी : इटहरीको मुख्य चौकमा रहेको सेन्ट्रल प्लाजा अगाडी खुकुरी हानाहान भएको छ । दिउसो साढे चार बजेको समयमा चिया खान भेला भएका युवाहरू बिच विवाद चर्किँदा खुकुरी हानाहान सुरु भएको हो । 
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार फेसबुकको विषयमा विवाद चर्किएको थियो । फेसबुक पोस्ट, कमेन्ट म्यासेजको विषयमा बढेको विवादले आपराधिक रूप लिएको उनले बताए । 
झगडा पछि धारिलो खुकुरी सहित २ युवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख खड्काले जानकारी दिए । पहिचान खुलेका अन्य २ युवा फरार रहेको उनको भनाई छ ।