विराटनगर : १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले बिहीबार देखि पदभार ग्रहण गरेका छन् ।  

नेपाल सरकार गृह मन्त्रालयको यही असार १९ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भई यस कार्यालयमा रहेका  प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले बिहीबार पदभार ग्रहण गरेका हुन् ।

नेपाल प्रहरी सङ्गठनमा राम्रो छवि बनाएका उनले यस अगाडि विशेष ब्युरो, सिआईबी, अपराध महाशाखा जस्ता महत्त्वपूर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरी गरिसकेका छन् ।  विशेष गरेर अपराध अनुसन्धान र अन्तर्राष्ट्रिय आतङ्कवाद नियन्त्रण सम्बन्धी राम्रो ज्ञान भएका उनले अपराध अनुसन्धानको क्षेत्रमा विभिन्न चर्चित अपराधका घटनाहरूमा अनुसन्धानको नेतृत्व गरी सफलता हासिल गरेका छन् । 

यसैगरी उनले विभिन्न जिल्ला प्रहरी कार्यालयहरू तथा जिल्ला प्रहरी परिसर काठमाण्डौमा समेत सफल नेतृत्व निर्वाह गरिसकेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा हाजिर भए पश्चात् उनले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई अपराध रहित समाज निर्माणमा अहोरात्र खटिई कानुनको परिधिमा रहेर जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न निर्देशन पनि दिएका छन् ।