चतरा : संङ्घिय सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकास बिनाको राजनीति खोक्रो भाषण मात्र हुन्छ भन्ने भनाइलाई मूल सन्देश लिएर राजनीतिमा प्रवेश गरेको बताएका छन् ।

शनिवार वराहक्षेत्र-७ स्थित सप्तकोसी बहुमुखी क्याम्पसमा आयोजित प्राध्यापक सङ्घको पदभार ग्रहण तथा बस उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले जनताको सेवा र देशको समृद्धका लागि आफू राजनीतिमा लागि परेको बताए । 

मन्त्री कार्कीले भने "जनताको सेवा गर्न राजनीतिमा प्रवेश गरेको हुँ, म जे बोल्नु हुन्छ त्यो गर्छु, झुटको राजनीति म गर्दिन । विकास बिनाको राजनीति जनताका लागि धोका  हुन्छ ।" निर्वाचन जित्न मात्र आफू नेता नभएको र जनताको भलो र विकास गर्न लागि पर्ने बताए।

वराहक्षेत्र नगरपालिकाको विकासका लागि सडक, शिक्षा, स्वास्थ्य, विद्युत लगातका क्षेत्रमा योजना बनाएर जनतालाई सेवा दिन आफू लागि परेको मन्त्री कार्कीले बताए । विकास बिनाको राजनीति खोक्रो भाषण मात्र हुने भएको भन्दै आफू विकास र जनताको सेबामा समर्पित हुने दाबी गरे ।

भन्टावारिदेखि धरानसम्मको पुरानो रेल्वे मार्गलाई सडक मार्गको रूपमा स्तर उन्नति, सप्तकोसी बहुमुखी क्याम्पसमा कृषि विज्ञान, कम्प्युटर ल्याब र पुस्तकालयको व्यवस्थाकालागि काम गर्ने बताए । वराहक्षेत्र नगरपालिका भित्र थप सडकको योजना, खानेपानी, स्मार्ट सिटीको कार्यहरु अगाडि बढाएको बताए ।

क्याम्पस प्रमुख खगेन्द्रबहादुर निरौलाले मन्त्री कार्की विकास प्रेमी नेता भएको उद्घोष गरे । निरौलाले भने "मन्त्री कार्कीको प्रयासबाट क्याम्पस भवन निर्माण भएको हो । आज बस पनि प्राप्त भएको छ ।" भवन निर्माण भएको जमिनलाई क्याम्पसको नाममा ल्याएर क्याम्पसको स्थायित्व दिन समेत मन्त्री कार्की समक्ष क्याम्पस प्रमुख निरौलाले आग्रह गरे ।

कार्यक्रम जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताले वराहक्षेत्र नगरपालिकाको मौलिकता झल्कने किसिमका योजनालाई प्राथमिकतामा राखेर काम गर्न नगर प्रमुखलाई आग्रह गरे । पर्यटन र फिल्म सिटिकालागी नगरपालिका लाग्नु पर्नेमा सभापति मेहताले जोड दिएका थिए ।

वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले अब्बल वराहक्षेत्र बनाउने अभियानमा नगरपालिकालागि परेको बताए । वराहक्षेत्र नगरपालिकाको समृद्धि र विकासका लागि प्रदेश र संङ्घिय सरकार सँग योजना मागका लागि आफू लागि परेको बताए । शिक्षा, स्वास्थ्य, पर्यटन लगायतको  हिसाबले वराहक्षेत्रलाई अब्बल बनाउन लागि परेको बताए ।

कार्यक्रम सप्तकोसी क्याम्पसको प्राध्यापक सङ्घमा इकाई समितिमा निर्वाचित सभापति केशव पुरी,  उपसभापतिमा उमेश खडका, सचिवमा शरणकुमार लिम्बू , सह-सचिवमा टेकबहादुर विष्ट (भरत), कोषाध्यक्ष दीपक श्रेष्ठ त्यस्तै सदस्यहरू राजन इसारा राई, धनकुमार जबेगु, पुष्प रिजाल र देवराज काफ्लेलाई मन्त्री कार्कीले निर्वाचित प्रमाणपत्र प्रदान गरेका थिए ।

शनिबार नै मन्त्री कार्कीको पहलबाट भारतीय दूतावासबाट उपलब्ध क्याम्पस बस उद्घाटन गरिएको थियो । मन्त्री कार्की उद्घाटन गरिएको बसमा चढेर चक्रघट्टी बजार परिक्रमा समेत गरेका थिए ।

Saptakoshi