चतरा : वराहक्षेत्र नगरपालिकामा डेङगु नियन्त्रणका लागि फगिङ गर्न थालिएको छ । फगिङ धुवा लगाउने कार्यमा वराहक्षेत्र नगरपालिकाका मेयर आफै लागि परेका छन् । 

वराहक्षेत्र बडा नं १० मा डेङगु सङ्क्रमित फेला परे पछि नगर प्रमुख कार्की डेङगु नियन्त्रणका लागि फगिङ मेसिन मार्फत धुवा लगाउन आफै लागि परेका हुन । नगर प्रमुख कार्कीले शनिवार र शुक्रवार वराहक्षेत्र वडा नं ९ र १० का डेङगु जोखिम रहेका क्षेत्रमा पुगेर आफैले फगिङ गरेका थिए ।

डेङगु सङ्क्रमित फेला परे पछि सङ्क्रमणको जोखिममा रहेका स्थानीयलाई सङ्क्रमण फैलन नदिने उद्देश्यले वडा नं ९ र १० का ढोलबझिया, कौवा टोल, १६ नम्बर, शान्ति चोक, सयपत्री चौक लगायतका टोलमा मेयर कार्की पुगेर फगिङ गरेका थिए ।

यो रोग एडिज एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट हुने भएकोले सङ्क्रमित व्यक्तिलाई टोकेर अरू स्वास्थ्य मानिसलाई टोक्दा यो रोग सर्ने गर्दछ । त्यसैले डेङगु नियन्त्रणका लागि लामखुट्टे नियन्त्रण गर्नुपर्ने भएकोले जोखिम क्षेत्रमा फगिङ गरिएको नगरप्रमुख कार्कीले बताए । फगिङ गर्न नगर प्रमुख कार्की सहित नगर प्रहरीको टोली, चालक दलको टोली र कर्मचारीहरू परिचालित छन् ।