धरान : इलाका प्रहरी धरानले पछिल्लो ३ महिनाको अवधिमा विभिन्न घटनामा संलग्न भई सजाय तोकिएर फरार भएका १८ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय धरानले गएको वैशाख देखि असार मसान्त सम्म २०६३ साल देखि विभिन्न आपराधिक घटनामा संलग्न रहेर अदालतले सजायको फैसला गरेर फरार रहेका १८ जना प्रतिबादीहरुलाई पक्राउ गर्न सफल भएको बताए ।
पक्राउ पर्नेहरूमा सबै भन्दा बढी लागुऔषधमा ९ जना रहेका छन् । यसै गरी लेनदेन बिगोमा २ जना, बन सम्बन्धी २ जना, बैङ्किङ कसुरमा २ जना, सवारी ज्यानमा १ जना, सरकारी छाप दस्तखत किर्तेमा १ जना र बहुविवाहमा १ जना गरी जम्मा १८ रहेका छन् ।
अपराध गरेर सजाय भागेरै कटाइन्छ भनेर लुकी छिपी बसेको अवस्थामा धरान प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायले बताए । पक्राउ परेकाहरूलाई अदालतले तोकेको कैद फैसला अनुसार कैद सजायका लागि थुनामा पठाई सकिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।


































































