धरान : धरानमा रहेको बराह बचत तथा ऋण  सहकारी संस्थाका पीडितहरूले आज धरान उपमहानगरपालिकामा घेराउ गरेका छन् ।

बराह ग्रुपद्वारा संचालित बराह बचत तथा ऋण सहकारी संस्थामा आफूहरूले दुःख गरेर जम्मा गरेको रकम बचत गरेर राखेको र पछिल्लो समय सहकारीले रकम फिर्ता नदिएको भन्दै बचतकर्ताहरू आन्दोलित भएका हुन् । उनीहरूले आफ्नो पैसा पाउनुपर्ने भन्दै पटक पटक बराह सहकारीमा माग गर्दा पैसा फिर्ता नदिएपछि बचतकर्ताहरू बराह पीडित सङ्घर्ष समिति बनाएर आन्दोलन नै गर्दै आइरहेका छन् ।

उनीहरूले यस भन्दा अघि धरान उपमहानगरपालिकाका मेयरलाई आफ्नो समस्या राखेर निवेदन दिएको भए पनि अहिले सम्म कुनै प्रक्रिया अघि नबढेकोले आज पुनः नगरपालिका घेराउ गर्दै न्याय माग्न आएको पीडितहरूले बताए । उनीहरूले नाराबाजी गर्दै मेयर हर्क साम्पाङसंग पनि बराहाको सम्पूर्ण सम्पत्ति रोक्का गर्न माग गरेका छन् । 

मेयर साम्पाङले यो विषयमा अलिकति धैर्य गर्दै अघि बढ्न सङ्घर्ष समितिलाई आग्रह गरे । उनले भने विधि र प्रक्रिया अनुसार धरान उपमहानगरपालिका र न्यायिक समिति अघि बढ्ने बताउँदै संयमता अपनाएर यो समस्याको समाधान खोज्नुपर्ने बताए । 

पीडित समितिले अविलम्ब छानबिन समितिको गठन हुनुपर्ने र सहकारी ऐन अन्तर्गत कारबाही गर्न मेयर साम्पाङलाई निवेदन सहित माग गरिएको समितिले जनाएको छ । धरान उपमहानगरपालिकाले पनि नियम अनुसार कारबाहीको प्रक्रिया अघि बढाउने बताइएको छ ।