चतरा : वराहक्षेत्र नगरपालिकामा रहेका सामुदायिक विद्यालयबाट प्रदान हुने शिक्षालाई गुणस्तरीय र व्यवसायी बनाउनु पर्नेमा नगरप्रमुख कार्कीले जोड दिएका छन् ।
नगरभित्र रहेका केही विद्यालयलाई छोडेर अधिकांश विद्यालयहरूको शैक्षिक तथा प्रशासनिक गतिविधि अत्यन्त कमजोर रहेकाले यसको सुधारमा नगरपालिका लागि पर्ने कार्कीले बताए ।
शनिवार नेपाल राहत शिक्षक समिति वराहक्षेत्रले आयोजना गरेको दोस्रो नगर सम्मेलनमा बोल्दै नगर प्रमुख कार्कीले समृद्ध वराहक्षेत्र बनाउने अभियानमा शिक्षकहरूले शिक्षामा सुधार गरेर अभियानलाई सफल बनाउन आव्हान गरेका थिए। नगरपालिकाले कुनै पनि तह, दरबन्दीमा रहेका शिक्षकलाई कुनै विभेद नगर्ने र उत्कृष्ट शिक्षक बनेर उत्कृष्ट विद्यालय बनाउने अभियानमा लाग्न शिक्षकहरूलाई आग्रह समेत नगर प्रमुख कार्कीले गरेका थिए ।
नगर भित्र रहेका सामुदायिक विद्यालयहरू बिच उत्कृष्ट विद्यालय बन्न प्रतिस्पर्धा हुनुपर्ने बताउँदै शिक्षालाई गुणस्तरीय बनाउन नगरपालिकाले योजना बनाउने कार्कीले बताए ।
राहत शिक्षक समिति वराहक्षेत्रका अध्यक्ष अनिल गौतमको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार राई, शिक्षा विकास शाखाका प्रमुख उपसचिव देवेन्द्र मल्ल, नेपाल राहत शिक्षक समितिका केन्द्रीय सहध्यक्ष कृष्ण विष्ट, शिक्षा विकास शाखाका अधिकृत उत्तम भारती, प्रदेश नं १ समिति उपाध्यक्ष सरिता नेपाल, सुनसरी अध्यक्ष विजय चौधरी, उपाध्यक्ष बेचन चौधरी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खड्ग कार्की लगायतले राहत शिक्षकको सेवा सुरक्षाको विषयमा बोलेका थिए ।
वराहक्षेत्रमा २०७४ साल देखी राहत दरबन्दीका शिक्षकहरू सङ्गठित भएका थिए। हाल वराहक्षेत्रमा १०३ जना राहत दरबन्दीका शिक्षकहरू विभिन्न विद्यालयहरूमा कार्यरत रहेका छन् ।