धरान : धरान उपमहानगरपालिकाको बुधवार बसेको कार्यपालिका बैठकले धरानमा जलकुण्ड बनाउने देखि साबुन उद्योग सञ्चालन गर्ने सम्मको विभिन्न निर्णय गरेको छ । 

बुधवार बिहान बसेको बैठकले धरानको खानेपानी समस्यालाई समाधान गर्न धरान-२० को बानियाटारमा धरानवासीलाई दुई महिना सुख्खा याममा खान पुग्ने खानेपानी जम्मा गर्न सक्ने जलकुण्ड बनाउने निर्णय भएको छ । हालको सर्दुबाट ल्याइएको खानेपानीको टङ्की देखि केही मास्तिरको डाँडामा बर्खा याममा पानी जम्मा गर्ने र सुख्खा याममा फागुन र चैतमा धरानवासीले खान पुग्नेगरी पानी वितरण गर्ने गरी जलकुण्ड बनाइनेछ । 

यसै गरी धरान उपमहानगरपालिका क्षेत्रमा बसोवास गर्ने बेरोजगारहरूलाई लक्षित गरेर रोजगारी सिर्जना गर्नका लागि धरानमै साबुन उद्योग सञ्चालन गर्ने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ । धरानमा रहेको ऐलानी जग्गाको खोजी गरी सो क्षेत्रमा साबुन उद्योग सञ्चालन गर्ने बताइएको छ । 

यसैगरी बैठकमा सामी परियोजना सञ्चालन सम्बन्धमा, खरिद नियमावली सम्बन्धमा, नगर दररेट स्वीकृति सम्बन्धमा र नयाँ कक्षा सञ्चालन, कक्षा थप सम्बन्धमा छलफल गरी निर्णय भएको छ । 

मिडियाले एमालेलाई खेदो गरे : 

कार्यपालिका बैठकमा नेकपा एमालेबाट वडाध्यक्ष बनेका वडाध्यक्षहरूले मिडियाले एमालेको खेदो खनेको बताए । 

धरान-१० का वडाध्यक्ष विवेक राईले कार्यपालिका बैठकमा बोल्दा सञ्चारकर्मीलाई नजिक बोलाउँदै अलिकति पनि मैले बोलेको भिडियो इडिट नगर्न आग्रह गरे । बैठकमा अधिकांश वडाध्यक्षहरूले एमालेलाई मिडियाले खेदो गरेको आरोप लगाए ।

बैठक कक्षमा जे बोलेको हो त्यो खिचेर सम्पादन गरेर एमालेलाई गलत देखाउन उद्धत देखिएको बताउँदै वडाध्यक्षहरूले अव देखि बैठकको लाइभ गर्दा मिडियाकर्मीहरूले अनिवार्य परिचय पत्र सहित उपस्थित हुनुपर्ने नभए आफै ५ जनाका दरले युट्युबे  ल्याउन सक्ने समेत बताए । 

यसभन्दा अघिको कार्यपालिका बैठक एमालेले बहिस्कार नगरेको तर मिडियाले स्थगित गर्न माग गरेकोलाई एमालेले बहिस्कार गरेको भनेर प्रचार गरेको आरोप लगाए ।