चतरा : वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलासँग लालपुर्जा वितरणको विषयमा छलफल गरेका छन् । भेटमा नगर प्रमुख कार्कीले आयोग मार्फत भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासकालागि वितरण हुने लालपुर्जा वितरणको कामलाई तीव्रता दिन आयोगका अध्यक्ष निरौलालाई आग्रह गरेका छन् । 
छलफलमा वराहक्षेत्र नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौला, वराहक्षेत्र वडा नं ७ का अध्यक्ष कपिल आचार्य लगाएको टोलीले राष्ट्रिय भूमि आयोगको केन्द्रीय कार्यालयमा पुगेर छलफल गरेको थियो । छलफलमा आयोगका अध्यक्ष केशव निरौलाले विगतका आयोगहरूले थालेका भूमिसम्बन्धी अधुरा कामलाई पूर्णता दिँदै सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्ने तयारीमा जुटेको जानकारी दिए। वराहक्षेत्र नगरपालिकामा लालपुर्जा बितरणकालागि राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुनसरीले काम गरिरहेको र पहिलो चरणमा वराहक्षेत्र नगरपालिका लालपुर्जा वितरण गर्ने तयारीमा जुटेको उनले बताए । अध्यक्ष निरौलाका अनुसार आयोगले प्रकाशन गरेको सूचनाका आधारमा आएको आवेदन र विगतका समितिले सङ्कलन गरेका आवेदन र पूरा गरेका प्रक्रियालाई निरन्तरता दिएर जग्गाको लालपुर्जा वितरणको तयारी थालिएको छ। राष्ट्रिय भूमि आयोग २०७८ गठन भएपश्चात् पहिलो चरणमा सुनसरीका वराहक्षेत्र र धरान सहितका पालिकामा काम सुरु गरिएको छ । 
वराहक्षेत्र नगरपालिकाले पनि भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबास समस्या समधानकालागि प्रक्रिया अगाडि बढाएको छ। नगर स्तरीय भूमिहीन तथा सुकुम्वासी तथा अव्यवस्थित समस्या समाधान समिति गठन गरेको छ ।
 जग्गा प्राप्ति कालागि वडा नं ७ बाट परीक्षण र अन्य वडामा समेत काम सुरु भइसकेका छन् । वडाहरूमा पहिलो चरणमा स्थान तोकेर काम अगाडि बढाइने छ। 
राष्ट्रिय भूमि आयोगको निर्देशन बमोजिम वडागत रूपमा बडा अध्यक्षको संयोजकत्वमा सर्व दलीय सहजीकरण समिति गठन समेत गरिएको नगर प्रमुख रमेश कार्कीले बताए । वडामा गठन गरिएको समितिले निस्सा बाढ्ने प्रक्रिया अगाडि बढाउने छ । निस्सा वितरण भएपछि नाम जाँच, फिल्ड बुक, दर्ता प्रक्रिया, दाबी विरोधका कामहरू अगाडि बढ्नेछ । नगरपालिकामा नगर प्रमुख संयोजक र उपप्रमुख सहसंयोजक रहेको सर्वदलीय समिति गठन गरिएको छ ।