चतरा : सुनसरीको वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की अव्यवस्थित बसोबास, भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गराउने कार्यमा लागि परेका छन् । 

नगरपालिकामा रहेका अव्यवस्थित बसोबास, भूमिहीन दलित र भूमिहीन सुकुम्वासी परिवारलाई राष्ट्रिय भूमि आयोग मार्फत लालपुर्जा वितरण गराउन नगर प्रमुख कार्की योजना बनाएर लागि परेका हुन् । हाल काठमाडौँ स्थिति राष्ट्रिय भूमि आयोग अध्यक्ष, प्राबिधिकसंगको छलफल र अन्तरक्रियामा रहेका नगर प्रमुख कार्कीले भदौ महिनाको अन्त्यबाट लालपुर्जा वितरण गर्ने गरी नगरपालिका अगाडि बढेको र यसलाई सफल बनाउन भूमि आयोगले तयारी थाल्नु पर्ने बताए ।

यसभन्दा अगाडिको सरकारले चासो नदेखाउँदा वराहक्षेत्रमा लालपुर्जा वितरणको कार्य पछाडि बढेको थियो । भूमि आयोगका केन्द्र अध्यक्ष पटक पटक नगरपालिका पुग्दा तत्कालीन जनप्रतिनिधिहरूको बेवास्ताका कारण वराहक्षेत्र नगरपालिका पछाडि बढेको नगर प्रमुख कार्कीले बताए । उनले १५ दिने र ७ दिने सूचना प्रकाशन भएको पनि जनाएका छन् । फिल्डमा गएर नाप्ने नापी शाखाका कर्मचारीहरु तयार छन् । नगरपालिकामा पनि भूमि आयोगको समिति गठन भएको छ । वडा वडामा पनि सहजिकरण समिति गठन गरेको छ । वराहक्षेत्र नगरपालिका वडा नं ७ लाई प्वाइन्ट मानेर काम अगाडि बढेको छ । लालपुर्जा वितरणको कार्यमा सबै राजनैतिक दल, नागरिक समाजको सहयोग छ । नगरपालिकाले पनि  क्षेत्र निर्धारण गरेर काम गरी रहेको नगर प्रमुख कार्कीले बताए ।

बुधवार राष्ट्रिय भूमि आयोगको कार्यालय ताहाचल काठमाडौँमा आयोजना भएको कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौला, वडा नं ११ का अध्यक्ष कृष्णकुमार महतो, प्रशासन शाखाका प्रमुख  राजकुमार गौतम , प्राविधिक शाखाका प्रमुख इन्जिनियर राजु भट्टराई, सूचना अधिकृत पुकार पोखरेल लगायतको उपस्थित रहेको थियो । उक्त छलफल कार्यक्रममा बुद्धशान्ति गाउँपालिका, रोम गाउँपालिका र कमलामाई नगरपालिकाका प्रमुखले राष्ट्रिय भूमि आयोगले काम गरेको अनुभव र योजना सुनाएका थिए ।

वराहक्षेत्र नगरपालिकामा अव्यवस्थित बसोबास, भूमिहीन दलित र भूमिहीन सुकुम्वासी परिवारको बाक्लो बसोबास रहेको छ। नगरपालिकामा प्राप्त तथ्यांकअनुसार ९१ हजार जनसङ्ख्या रहेको नगरपालिकामा अव्यवस्थित बसोबास ६ हजार ६ सय ७१ , भूमिहीन दलित ८ सय ३५ र भूमिहीन सुकुम्वासी २ हजार ७ सय ९० ले आवेदन दिएका छन् ।