दमक : दमक नगरपालिका वडा नम्बर ४ का भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई धनिपुर्जाको निस्सा वितरण गरिएको छ। स्थानिय दाहाल प्रतिष्ठानको सभाहलमा एक कार्यक्रमको आयोजना गरी दमक नगर प्रमुख राम थापा र उपप्रमुख रेगिना भट्टराईले वडा भित्र रहेका भूमिहीनहरूलाई धनिपुर्जाको निस्सा वितरण सुरु गरेका छन्  ।
दमक वडा नम्बर ४ का वडाध्यक्ष पुण्य दाहालको अध्यक्षतामा भएको कार्यक्रममा भूमिहीनहरूलाई निस्सा वितरण गर्दै नगर प्रमुख थापाले आफूहरू निर्वाचित भएर आए देखी नै पहिलो प्राथमिकतामा राखेर भूमिहीनलाई धनिपुर्जा उपलब्ध गराउने काममा लागेको बताए । निर्वाचन ताका गरेको वाचा अनुसार द्रुत गतिमा काम गर्दा अहिले निस्सा वितरण गरिएको र अब कहिदिनमै धनिपुर्जा समेत उपलब्ध गराइने उनले बताए । 
अघिल्ला जनप्रतिनिधिले यसमा कुनै काम नगरेकाले केही समय लागेको भन्दै नगर प्रमुख थापाले अब द्रुत गतिमा काम हुने बताए । त्यसैगरी नगर उपप्रमुख भट्टराईले भूमिहीनको समस्यालाई सदाकालागि अन्त्यगरी समृद्ध नगर निर्माणमा आफूहरू लागि परेको जानकारी दिइन । प्राविधिक कामले केही ढिलाइ भएपनि आगामी सङ्घीय निर्वाचन अघि नै धनिपुर्जा उपलब्ध गराउने गरी आफूहरूले काम गरिरहेको उनले जानकारी दिइन । कार्यक्रममा र राष्ट्रिय भूमि आयोग झापा जिल्ला अध्यक्ष तिलक सिंह पाण्डेले प्राप्त निवेदनका आधारमा आयोगले छानबिन गरेर चाँडै धनिपुर्जा वितरण कार्यमा लाग्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङ, नेपाली काँग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईँ, दमक-४ का पूर्व वडाध्यक्ष कुमार साम्सोहाङले आयोगको काम अघि बढाउन सक्दो सहयोग गर्ने बताए।
वडा भित्र हाल सम्म दर्ता रहेका ४५० भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई धनिपुर्जाको निस्सा वितरण गरिएको वडा सचिव अस्मिता खनालले जानकारी दिइन ।