इटहरी : धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ हरेक दिन जसो फेसबुक लाइभमा देखा पर्छन् । बुधवार बिहान 'ग्यालेक्सी फेर के टेलिभिजन' लाई अन्तरवार्ता दिएको समेत फेसबुक लाइभ गर्न भ्याए । सोही क्रममा पत्रकारले फोहोरमैला व्यवस्थापनको विषयमा प्रश्न गरे । उनले प्रतिप्रश्न गरेर तपाई सल्लाह दिनुन कसरी व्यवस्थापन गर्ने ? भनेर माहौल बदल्न खोज्छन् । 
त्यही बिचमा केन्द्र सरकारले बजेट नदिएको कारण देखाउँदै समस्या बढेको आरोप लगाए । फोहोर धरानको मात्र समस्या नभएको बताउँदै उनले नेपालमा पैसा नभएको कारण काम गर्न नसकिने धारणा राखे । केन्द्र सरकारले एक खर्ब रुपैयाँ दिए विदेशमा जस्तै चिम्नी राखेर फोहोर जलाउने उनको योजना छ । फोहोरमैला व्यवस्थापन बारे खासै नयाँ धारणा राख्न नसकेका उनले लाइभ मै हाँसीमजाक गरे ।
काठमाण्डौको फोहोर व्यवस्थापनमा मेयर बालेन्द्र शाहको आलोचना गरेपछि उनी प्रश्नको घेरामा परेका छन् । धरान उपमहानगरपालिकाको फोहोर जलेर निस्किने धुवाको कारण जनस्वास्थ्यमा समस्या देखिएको गुनासो बढ्दै गएको छ । विगत ६ वर्ष देखी फोहोर जलेको धुवाले इटहरी-१९ भवानीपुरका स्थानीयलाई सास्ती दिँदै आएको छ । 
जनस्वास्थ्यमा मात्र हैन समस्या कानुनमा पनि देखिएको छ । वन ऐन २०७६, फोहोरमैला व्यवस्थापन ऐन २०६८, फोहोरमैला व्यवस्थापन नियमावली २०७०, वातावरण संरक्षण ऐन २०७६, वातावरण संरक्षण नियमावली २०७७ लाई समेत प्रभावित पार्ने काम भएको छ ।  
वन ऐन २०७६ को दफा ४९ ले वन विनाश र आगजनीलाई कसुरको रूपमा प्रष्ट पारेको छ । वन फाँड्ने, आगजनी गर्ने देखी वन क्षेत्रको अतिक्रमण गर्नुलाई कसुरको रूपमा व्याख्या गरेको छ । सामुदायिक वन संरक्षणको जिम्मेवारी पाएको धरान उपमहानगरपालिका आफै वन अतिक्रमणको लागि अग्रसर देखिएको छ । 
फोहोर मैला व्यवस्थापन ऐन २०६८ को दफा ६ बमोजिम स्थानीय तहले फोहोरमैलालाई कम्तीमा जैविक र अजैविक फोहोरलाई श्रोतमै छुटाउनुपर्ने बताइएको छ । परिच्छेद ३ को दफा ११ को उपदफा २ मा फोहोरमैला स्थानान्तरण तोक्दा जनस्वास्थ्य वा वातावरणमा प्रतिकुल प्रभाव नपर्ने र दुर्गन्ध नआउने गरी व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । 
फोहोरमैला व्यवस्थापन नियमावली २०७० को नियम ८ को उपनियम १ मा स्थानीय तहले फोहरमैला व्यवस्थापन स्थलको सञ्चालन गर्दा अपनाउनुपर्ने नियमबारे प्रष्ट पारेको छ । उपनियम १ (क) मा फोहरमैला व्यवस्थापन स्थलको सञ्चालन गर्दा निस्कने लिचेट, ग्यास र दुर्गन्ध लगायतका कारणबाट त्यस क्षेत्रको वातावरणमा पर्न सक्ने नकारात्मक प्रभाव न्यूनीकरणका उपायहरु अपनाउनुपर्ने उल्लेख छ ।  त्यस्तै फोहरमैला व्यवस्थापन स्थल वरिपरिको जनजीवनमा पर्न सक्ने आर्थिक, सामाजिक, भौतिक तथा जैविक प्रभाव र त्यसको व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । उपनियम १ (ङ) मा फोहरमैला व्यवस्थापन स्थल सञ्चालनका समयमा सो स्थानमा आवतजावत बन्द गर्नु पर्ने र सो सम्बन्धमा अपनाउनु पर्ने सचेतना सम्बन्धी विषय प्रष्ट पारिएको छ । 
वातावरण संरक्षण ऐन २०७६ को दफा ३० को उपदफा ५ मा नेपाल सरकारले कुनै हानिकारक वा जोखिमयुक्त पदार्थ वा फोहोरमेला भण्डारण वा विसर्जन गरेको स्थान वा अन्य कारण अत्यधिक प्रदूषण गरेको स्थानलाई प्रदूषित क्षेत्र तोकी सवारी साधन वा मानवको आवतजावतमा रोक लगाउने उल्लेख छ । तर धरान उपमहानगरपालिकाले राजमार्गको छेवैमा फोहोरमैला विसर्जन गरी वातावरण प्रदूषित बनाउँदै आएको छ । 
वातावरण संरक्षण नियमावली २०७७ को नियम १४ को उपनियम २ मा स्थानीय तहले प्रदूषणको प्रकृति अनुसार कुहिने र नकुहिने फोहोरको वर्गीकरण गर्ने उल्लेख छ । उपनियम ३ मा  उद्योग वा अन्य कारणबाट निष्कासित फोहोरले जनस्वास्थ्य वा वातावरणमा प्रभाव पर्न गएमा आफ्नै खर्चमा फोहोरमैला हटाई सो हटाउँदा लाग्ने आधा खर्च फोहोरमैला उत्सर्जन गर्ने व्यक्ती वा संस्थालाई तिर्न लगाउने व्यवस्था छ । उता धरान उपमहानगरपालिका आफैले उत्सर्जन गरेको फोहोरले जनस्वास्थ्य र वातावरणमा प्रतिकुल असर गरिरहेको छ । 
कानुनी कारबाही गर्ने प्रमुख निकाय धरान उपमहानगरपालिका आफैले ऐन र नियमावली विपरीतका कामलाई निरन्तरता दिँदै आएको छ । डिभिजनल वन कार्यालय सुनसरीले बारम्बार सचेत गराउँदा समेत धरान उपमहानगरपालिकाले खासै चासो दिएको छैन । 
जनस्वास्थ्य विज्ञ डाक्टर सागर प्रसाईँ फोहोर जलेर निस्किने कार्बन मोनोअक्साईड र सल्फरडाईअक्साईड जस्ता ग्यासको कारण फोक्सो, मुटु र आँखामा असर गर्ने बताउँछन् । गर्भवती महिलामा आमा र बच्चा दुवैमा स्वास्थ्य समस्या देखिने उनले प्रष्ट पारे । बालबालिकामा निमोनिया हुने र यसले दिर्घकालिन रोग जन्माउने प्रसाईँले बताए । सानो उमेरमै प्रदूषणमा हुर्किएका बालबालिकाको वृद्धिदर कम हुने र किशोर अवस्था बाट मनोवैज्ञानिक समस्या देखिन सक्ने उल्लेख गरे ।