इटहरी : नेकपा एमाले सुनसरीका दुई प्रभावशाली नेता हुन् भीम प्रसाद आचार्य र रेवती रमण भण्डारी । लामो समय एउटै टिमका रहेर राजनीति गरेका दुई नेताबिच अहिले दुरी बढेको छ। केही समय अगाडी सम्म एक अर्कालाई खुलेरै असहयोग गर्न दुवै नेताहरू सक्रिय भए । अहिले सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा दुवै नेताको नाम सिफारिस भएको छ । उनीहरू सहित अन्य नेताहरू पनि सिफारिसमा परेका छन् । तथापि एमालेले दुईमध्ये एकलाई टिकट दिने सम्भावना बलियो छ । 
सुनसरी १ (ख) बाट निर्वाचित प्रदेश सांसद हुन आचार्य । २०७१ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका उनी मुख्यमन्त्री बन्ने आसमा प्रदेश सभामा प्रवेश गरेका थिए । तर तत्कालीन नेकपा संसदीय दलको नेतामा दुई मतले पराजित भएपछि उनको मुख्यमन्त्री बन्ने बाटो अवरोध भयो । 
नेकपा विभाजन सँगै एमाले पनि विभाजित हुन पुग्यो । माधव नेपालको नेकपा (एकीकृत समाजवादी) मा नलागी आचार्य मुख्यमन्त्री बन्ने भएपछि एमालेमै रहे । तत्कालीन मुख्यमन्त्री शेरधन राईले संसदीय दलको नेताबाट राजीनामा दिएर आचार्यलाई दलको नेता बताए । प्रदेशसभाको ठुलो दलको हैसियतले उनले सरकार बनाए । विश्वासको मत लिन नसकेपछि उनको मुख्यमन्त्री पद खुस्कियो । अहिले पनि उनी संसदीय दलको नेताको हैसियतमा छन् । एमाले स्थायी कमिटी सदस्य तथा पर्यटन विभाग प्रमुख रहेका उनी सँगै जिल्ला अध्यक्ष रेवती रमण भण्डारी टिकटको प्रतिस्पर्धामा छन् । 
भण्डारी यसअघि २०६४ मा विजय कुमार गच्छदार सँग पराजित भएका थिए । २०७० को निर्वाचनमा सुनसरी २ बाट विजयी भएका उनी पुनः सोही क्षेत्रबाट निर्वाचित हुने दाउमा छन् । नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष द्वारिकलाल चौधरी र खेमराज पोखरेल भण्डारी उम्मेदवार भए खुलेरै असहयोग गर्ने पक्षमा छन् । आचार्य सँग निकट पोखरेल र चौधरी भण्डारीलाई स्वीकार गर्ने पक्षमा छैनन् । 
२०७८ पुषमा सम्पन्न एमाले जिल्ला अधिवेशनमा चौधरी र पोखरेल भण्डारीसँग पराजित भएका थिए । भण्डारी यसअघि पनि एमाले सुनसरी अध्यक्षको जिम्मेवारीमा थिए । २०७४ को निर्वाचनमा टिकट नपाएपछि उनी भीम आचार्य सँग रुष्ट भए । भीम आचार्य विरुद्ध सामाजिक सञ्जालमै अभिव्यक्ति दिएका उनले संसदीय दलको नेतामा पराजित गर्न शेरधन राईलाई खुलेरै सहयोग गरे । यसलेपनि आचार्यसँगको उनको सम्बन्धमा तिक्तता आयो । २०७४ को स्थानीय निर्वाचनमा आचार्यले पैसा लिएर टिकट बाढेको भण्डारीले आरोप लगाए । आचार्यले कुनै प्रतिक्रिया नदिएपछि माहौल सहज बन्दै गयो । पछिल्लो समय एउटै निर्वाचन क्षेत्रबाट सिफारिसमा परेका दुई नेताहरू अहिले टिकटको होडबाजीमा छन् । दोस्रो पटक जिल्ला अध्यक्ष भएका भण्डारीलाई नेकपा एमालेको साख फर्काउनुपर्ने चुनौती छ । आफैले टिकट पाउनु र विजयी हुनु उनको राजनैतिक प्रतिष्ठाको विषय बनेको छ ।
संविधानसभा सदस्य समेत रहेका उनी इटहरीको एक मात्र सामुदायिक क्याम्पस जनता बहुमुखीको सञ्चालक समिति अध्यक्ष समेत हुन उनी । हाल एमाले निकट अनेरास्ववियुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी २ महिना पुरा भएको छ। तथापि भण्डारीले समस्याको हल निकाल्न सकेका छैनन् । यसले उनको पार्टी भित्रै आलोचना सुरु भएको छ ।
भण्डारी र आचार्य विवादले एमाले कमजोर बन्न सक्ने भन्दै चिन्ता व्यक्त गर्छन् युवा नेता जीवी गजल । दुई नेता बिचको संवादहीनताले आगामी नेतृत्वप्रति वितृष्णा जगाउने उनले बताए । नेताहरू बिच रचनात्मक प्रतिस्पर्धा जरुरी रहेपनि व्यक्तिगत रिसिइवी र कुण्ठाको लडाइँले आम जनता र कार्यकर्तामा राजनीति प्रति गलत धारणा विकसित हुने उनको तर्क छ । 
सुनसरी २ का क्षेत्रीय संयोजक राम कोइराला अहिले त्यस्तो कुनै तिक्तता नरहेको बताउँछन् । पहिला केही थियो भन्ने कुराले अहिले कुनै असर नपुग्ने उनले बताए । पार्टी नेताहरू निर्वाचनमा गम्भीर भएर लाग्नु भएको बताउँदै उनले सुनसरी २ मा एमालेको जित निश्चित रहेको प्रस्ट पारे । दुवै जिम्मेवार नेता भएकाले जसले टिकट पाए पनि एक अर्कामा सहभाव रहने उनको विश्वास छ ।