चतरा : सुनसरी निर्वाचन क्षेत्र नं ४ मा ८१ हजार २ सय ३३ मत खसेको छ । बहालवाला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको निर्वाचन क्षेत्र रहेको सुनसरी-४ मा १ लाख २८ हजार ६५ मतदाता रहेका थिए । प्रदेशसभा तर्फ १ मा  ४१ हजार ५ सय ९ मत खसेको छ भने प्रदेश सभा २ तर्फ ३९ हजार ७ सय २४ खसेको छ । प्रदेश सभा १ मा ६७ हजार ६ सय ३३ र प्रदेश सभा  २ मा ६० हजार ४ सय ३२ मतदाता रहेका थिए।  
सुनसरी ४ को प्रदेश सभा १ अन्तर्गत वराहक्षेत्र नगरपालिकाका ६ वटा वडामा २१ हजार ९ सय ९ मत खसेको थियो । रामधुनी नगरपालिको ४ नम्बर वडामा २ हजार ९ सय ८ र कोसी गाउँपालिकामा १६ हजार ६ सय २८ मत खसेको थियो । त्यस्तै प्रदेश सभा २ तर्फ हरिनगर गाउँपालिकामा १४ हजार १ सय २९,  भोक्राहा गाउँपालिकामा १६ हजार ६ सय, इनरुवा नगरपालिकाको ३ वटा वडामा ८ हजार ९ सय ९५ मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । निर्वाचन कार्यालयका अनुसार सुनसरी ४ को मतगणना इनरुवा स्थित भगवती माध्यमिक विद्यालयमा गरिनेछ । मतगणना १ बजेबाट सुरु हुनेछ ।
राजनैतिक रूपमा ऐतिहासिक र महत्त्वपूर्ण रहेको सुनसरी ४ मा नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमाले-जसपा गठबन्धनबाट एमालेका केन्द्रीय सदस्य जगदीश प्रसाद कुसियैत, राप्रपाबाट विद्यानन्द यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जीवन श्रेष्ठ, लोसपाबाट कुञ्जिलाल यादव, स्वतन्त्र उम्मेदवार डाक्टर खालिद हुसेन, केवक कार्की लगाएका उम्मेदवार रहेका छन् । प्रतिनिधि सभामा नेपाली काँग्रेसका कार्की र एमालेका कुसियैत बिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 
त्यस्तै प्रदेश सभा १ मा लोकतान्त्रिक वाम गठबन्धनबाट काँग्रेसका सदानन्द मण्डल, एमाले-जसपा गठबन्धनबाट जसपाका परशुराम बस्नेत, लौरो अभिनानबाट नगेन्द्र बस्नेत, लोसपाका नुनुलाल उराँवको उम्मेदवारीलाई महत्त्वको साथ हेरिएको छ । प्रदेश सभा १ मा राप्रपाबाट राजकुमार साह, स्वतन्त्र उम्मेदवार रविन राई लगायतको उम्मेदवारी रहेको छ । त्यस्तै प्रदेश सभा २ मा लोकतान्त्रिक वाम गठबन्धनबाट हाजी इस्राराईल मन्सुरी, एमाले-जसपा गठबन्धनबाट एमालेका अब्बास अन्सारी र राप्रपाका चन्दन मेहताका बिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
सुनसरी-४ लाई ऐतिहासिक निर्वाचन क्षेत्रको रूपमा लिने गरिन्छ । २०१५ सालको आम निर्वाचनमा बिपी कोइराला सुनसरी-४ बाटै विजयी बनेर देशको पहिलो जन निर्वाचित प्रधानमन्त्री बनेका थिए । त्यस्तै २०४८ सालको प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी-४ वाटै विजयी बनेर गिरिजाप्रसाद कोइराला देशको प्रधानमन्त्री बनेको थिए ।