• रश्मि प्रधान

धरान : धरान रन समूहले आउँदो फागुन १३ गते एघारौँ अन्तर्राष्ट्रिय नेवा च्यारिटी दौड प्रतियोगिता आयोजना गर्ने तयारी प्रारम्भ गरेको छ । यसपालि धरान रन एघारौँ वर्षमा प्रवेश गर्ने भएकोले प्रतियोगितालाई फरक ढङ्गमा सम्पन्न गर्ने तयारी गरिएको अध्यक्ष रमु राईले शुक्रवार पत्रकार सम्मेलनमा बताएका छन् । 

प्रतियोगितामा यसपालि दौडको ठिक समय मापनकालागि चिप टाइमिङ सिस्टम प्रयोग गरिने अध्यक्ष राईले बताए । यो प्रणाली नेपालमा पहिलो पटक धरान रनले प्रतियोगितामा प्रयोग गर्न लागेको उनको भनाई छ । उनले भने ‘चिप सिस्टममा प्रत्येक धावक, धाविकामा लगाइन्छ र यसले धावकले कति समयमा कति दुरी पुरा गरेको हो त्यसको सही मापन देखाउने छ ।’ 

आयोजक धरान रनले हरेक वर्ष आयोजना गर्दै आएको दौड प्रतियोगिताको उद्देश्य नागरिकको स्वास्थ्य तथा शारीरिक एवं मानसिक सबलताको चेतना अभिवृद्धिको सन्देश फैलाउने हो । महिला र पुरुषको प्रतियोगितामा युवा, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका प्रतियोगीका इभेन्टहरू रहने गरेका छन् ।       

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरूको सहभागिता हुने १० किलोमिटर दौडको रुट यसपालि पुतली लाइन देखि दौड सुरु गरी दुर्गा चोक, बुद्ध चोक, रत्न चोक मङ्गलवारे, कल्याण चौक, पानी टङ्की, गणेशमान चौक, रङ्गशाला हुँदै जिरो प्वाइन्ट, अमरहाट, रेडक्रस भवन हात्तीसार, विजयपुर चौक हुँदै पिण्डेश्वर मन्दिर, चिनिया चौक पुरानो बजार देशीलाईन हुँदै भानुचौक सम्म हुनेछ । 

धरान रनले आयोजना गर्दै आएको दौड प्रतियोगितामा च्यारिटीको लागि हो । प्रतियोगिताको प्रवेश शुल्कबाट सङ्कलित रकम नेवा च्यारिटी कोषमा जम्मा हुनेछ । कोषले उक्त रकम  अपाङ्ग, असहाय महिला बालबालिकाको स्वास्थ्य, शिक्षा सहितका कल्याणकारी कार्यमा खर्च गर्दै आएको अध्यक्ष राईले बताए । प्रतियोगितामा १६ देखि ३९ वर्ष समूहको खुल्ला दौडमा प्रथम, द्वितीय, तेस्रो हुने पुरुष र महिलालाई जनही नगद ५० हजार, ४० हजार, ३० हजार रुपैंया पुरस्कार प्रदान गरिने छ । १३ वर्ष मुनीकाकालाई ७ हजार, ५ हजार, ३ हजार, १३ देखि १६ वर्ष समूहकालाई  ७ हजार, ५ हजार, ३ हजार नगद पुरस्कार प्रदान गरिनेछ । ४० वर्ष देखि माथि भेट्रान दौडमा सहभागी विजेतालाई ७ हजार, ५ हजार, ३ हजार रुपैंया पुरस्कार प्रदान गरिने छ । ६० वर्ष माथिकालाई विशेष पुरस्कारको व्यवस्था रहेको बताइएको छ ।

धरान रन समूहको नेवा च्यारेटी रनले सञ्चालन गरेको नेवा एजुकेसन फण्डबाट सामुदायिक विद्यालयका १२ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ । यसअघि प्रथम नेवा च्यारेटी २०६९ मा सङ्कलित रकम शारीरिक अपाङ्गता भएकी साहित्यकार लक्ष्मी राईको सहयोगका लागि २ लाख ५० हजार रुपैंया प्रदान गरिएको थियो उक्त रकम सहित किरात राई यायोक्खाले ४ लाखको अक्षय कोष खडा गरी राईलाई आर्थिक सहयोग प्रदान गरिँदै आएको छ । 

dharan-run-charity-educatioदोस्रो नेवा च्यारेटी २०७० बाट दुर्व्यसनी महिलाहरूको निम्ति दृष्टि नेपाल संस्थाको हृयापी होमलाई १ लाख ७७ हजार सहयोग गरिएको थियो । नेवा च्यारेटी २०७१ मा धरान पोजेटिभ समूहका सङ्क्रमित बालबालिकाको शिक्षाको लागि १ लाख ५० हजार प्रदान गरिएको थियो । चौथो नेवा च्यारेटी २००२ बाट ५ वटा संस्थालाई २ लाख प्रदान गरिएको थियो । २०७३ मा २ लाख ५० हजारको शिक्षाको निम्ति अक्षय कोष खडा गरी २४ जना जेहेन्दार सामुदायिक विद्यालयको विधार्थीहरुको पढाई शुल्क सहितका शिक्षाका लागि प्रदान गरिएको थियो । 

२०७४ मा २५ सय धावक धाविका धरान रनमा सहभागी थिए । प्रतियोगिताबाट ३ लाख ५० हजार कोषमा थपेर ६ लाख रुपैंया पुर्‍याइएको थियो । २०७५ मा ४  लाख थप गरेर १० लाखको अक्षय कोष स्थापना गरिएको बताइएको छ । २०७६ मा सङ्कलित १ लाख ८२ हजार थप गरी कुल अक्षयकोष रकम ११ लाख ८२ हजार बनेको छ । उक्त कोषबाट आउने व्याजले सामुदायिक विद्यालयको २४ जना जेहेन्दार विपन्न विधार्थीहरुको पढाई खर्च, पोसाक, शैक्षिक सामाग्री प्रदान गरिँदै आएको हो ।