धरान : इतिहासकार इमानसिंह चेम्जोङलाई १२० औँ जन्म जयन्तीका दिन सम्झना गर्दै आज धरानमा उनको सालिकमा माल्यार्पण सहित संक्षिप्त परिचर्चा कार्यक्रम हुँदैछ । अङ्ग्रेजी सम्वतको पहिलो दिन उनको जन्मदिन भएकाले जनवरी १ तारिका दिन मनाइँदै आएको छ । धरानमा सन २०२३ नयाँ वर्षको दिन आज उनलाई सम्झना गरिएको हो । जन्म जयन्ती चेम्जोङ वंश उत्थान सङ्घ र किरात याक्थुङ चुम्लुङको संयुक्त आयोजनामा भइरहेको हो ।  
धरान-१५ चुम्लुङ हिम स्थित चेम्जोङ को सालिकमा माल्यार्पण गरी च्याब्रुङ नृत्य सहितको टोलीले श्रद्धाञ्जली अर्पण गरिने कार्यक्रम आयोजना गरिएको चुम्लुङ नगर सचिव जय सम्बाहाङफेले बताए । चेम्जोङ लिम्बु जातिको राजनीतिक, भाषा, संस्कृतिको इतिहासलाई आधिकारिक रूपमा स्थापित गर्ने महान् इतिहासकार थिए । उनको ऐतिहासिक खोज, अनुसन्धानबाटै किरात समुदायको इतिहासका आधारहरू तयार भएकोले उनलाई त्रिभुवन विश्वविद्यालयले ‘किरातोलोजिष्ट’को उपाधि दिएको थियो ।
चेमजोङको ‘किरातकालिन विजयपुरको इतिहास’मा धरान स्थित विजयपुर लिम्बुवानको राजधानी भएको तथ्यहरू सहित यहाँको दरबार स्थल, हात्तीसार, बुढासुब्बा मन्दिरको इतिहास, भूगोलका बारेमा विस्तृत कुरा उल्लेख छन् । उनको किरात इतिहास, लिम्बु भाषा, संस्कृति सम्बन्धी दर्जनको सङ्ख्यामा प्रकाशित छन् । चेम्जोङले त्रिविमा किरातोलोजिष्टका रूपमा गरेका अध्ययन अनुसन्धानका आधारमा उक्त पुस्तकहरू प्रकाशित भएका हुन् । 
नेपालको इतिहासमा पूर्वी नेपालको ऐतिहासिक तथ्यहरू इमानसिंह चेम्जोङले लेखेको इतिहास उल्लेख नगरी पूर्ण हुन्न । उनी किरात लिम्बु समुदायको इतिहास खोजकर्ता मात्र थिएनन् । नेपालको राजनीतिक इतिहासमा इमानसिंहले प्राज्ञिक योगदानको उच्च मूल्याङ्कन गर्दै २०५५ सालमा तत्कालीन सरकारले उनको सम्मानमा १ रुपैयाँको हुलाक टिकट जारी गरेको थियो । उनले लिम्बुवान, किरात प्रदेशका तथ्यहरूलाई स्थापित गर्न अभियन्ताको रूपमा पनि महत्त्वपूर्ण योगदान गरेका छन् ।