धरान : कवि शिरोमणि लेखनाथ पौड्यालको १३९ जन्म जयन्तीको अवसरमा आयोजित राष्ट्रिय खुल्ला कविता प्रतियोगितामा गोरखाका कवि एस.आर.दुवाडी प्रथम भएका छन् । उनले प्रथम पुरस्कार स्वरूप नगद पुरस्कार १५ सहित प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा दोस्रो स्थान ललितपुरका नवराज आचार्यले प्राप्त गरेका छन् । तेस्रो स्थान सुनसरीका तीर्थराज विश्वकर्माले प्राप्त गरे । चौथो स्थानमा रही काभ्रेपलान्चोककी अनिता धितालले सान्त्वना पुरस्कार प्राप्त गरेकी छन् । विजेताहरूले दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

कवि शिरोमणि साधना समाजद्वारा शनिवार उद्योग वाणिज्य सङ्घको सभा हलमा आयोजित प्रतियोगीताको समापनमा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा.भीम प्रसाद खतिवडाले पुरस्कार प्रदान गरे ।

समाजले लेखनाथ जयन्तीका दिन धरान-१६ लेखनाथ चौक स्थित लेखनाथको शालिकमा माल्यार्पण गर्दै आएको छ । समाजले दश वर्ष अघि २०६९ साल देखी लेखनाथ जयन्तीको अवसरमा कविता प्रतियोगिता आयोजना गर्दै आएको हो । पछिल्लो समय प्रतियोगीतालाई पूर्वाञ्चल स्तरीय हुँदै राष्ट्रियस्तरको प्रतियोगिता बनाइएको सचिव डा. महानन्द तिम्सिनाले बताए । 

यसपालि देशभरका जिल्लाहरूबाट कुल ६३ वटा कविता प्राप्त भएकोमा प्रतियोगीताका लागि १५ वटा कविता छनौट गरिएको थियो । छनौट भएका कविहरूलाई समाजले धरानमा निमन्त्रणा गरी आज भएको वाचन कार्यक्रममा सहभागी गराइएको समाजले जनाएको छ । निर्णायक मण्डलमा प्रह्लाद पहरेदार,  टेकनाथ घिमिरे, जीवनकुमार राई थिए ।

उक्त अवसरमा शिक्षाध्यक्ष प्रा.डा. खतिवडाले प्रतियोगितामा वाचन गरिएका कविताहरूले मुलुकका जल्दा बल्दा सवालहरू उठाएको बताउँदै छन्दमा होस या आधुनिक शैलीको होस, विचार र शिल्प बिना कविताले शक्तिशाली हुन सक्दैन । उनले भने ‘शब्द थुपारेर मात्र कविता हुँदैन ।’

प्राडा.माधव प्रसाद पोखरेलले छन्द कवितामा पहिले संस्कृत शब्दको अत्यधिक प्रयोग हुन्थ्यो तर, पछिल्लो समयका छन्दका कविताहरूमा संस्कृत शब्दको प्रयोग नपाइने गरेको बताए । उनका अनुसार लेखनाथ पौड्याल कविताको भाषामा नयाँ परिवर्तन ल्याउने कविका रूपमा मानिने बताउँदै भने ‘कवितामा हलन्तको प्रयोग उनैको समय देखी हुन छाडेको हो ।’   

प्राडा.गोविन्द तुम्बाहाङले विश्व साहित्यमा देखिएका कविता लेखनको सैद्धान्तिक पक्षमा प्रकाश पारेका थिए । प्राडा टङ्क न्यौपाने, संस्कृत विश्वविद्यालय सांस्कृतिक केन्द्रका निर्देशक जर्मन चौधरी, प्राडा गोपाल भण्डारी, सह-प्राध्यापक हरि दहालले लेखनाथ पौड्यालको विविध पक्षमा प्रकाश परेका थिए । 

समाजका अध्यक्ष सिद्धिकर्ण शर्माको सभापतित्वमा भएको समारोहमा कोमलप्रसाद पोखरेल सरुङगा झापा र सोमराज अभय कट्टेल विराटनगरलाई १०/१० हजार रुपैयाँको पुरस्कार सहित स्रष्टा सम्मान गरिएको थियो । कार्यक्रम समाजका सचिव डा.महानन्द तिम्सिना र भट्टराईले गरेका थिए ।