धरान : कवि शिरोमणि साहित्य साधना समाजद्वारा शनिवार आयोजित एक समारोहमा दुई जना कविलाई नगद पुरस्कार सहित श्रष्टा सम्मान गरिएको छ । समाजले लोखनाथ जयन्तीको अवसरमा प्रत्येक वर्ष प्रदान गर्दै आएको श्रष्टा सम्मान स्वरूप कविद्वयलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

सम्मानित कवि मध्ये कोमलप्रसाद पोखरेललाई ‘टिका प्रसाद बस्ती पुरस्कार’ले सम्मानित गरिएको छ । १० हजार रुपैयाँ राशिको उक्त पुरस्कार स्वर्गीय टिका प्रसाद बस्तीकी श्रीमती अन्नपूर्ण बस्तीले स्थापना गरेकी हुन् । पुरस्कृत कवि पोखरेल झापा सुरङगा रही लामो समय देखी साहित्य साधना गर्दै आएको वयोवृद्ध कवि हुन । उनको दर्जन भन्दा बढी कृतिहरू प्रकाशित छन् ।

यसैगरी कवि सोमराज अभयलाई ‘वेदकुमारी खड्गबहादुर थापा स्मृति पुरस्कार’ले सम्मानित गरिएको छ ।  १० हजार रुपैयाँ राशिको उक्त पुरस्कार शारा थापा स्मृति प्रतिष्ठानले स्थापना गरेको हो । उक्त अवसरमा प्रतिष्ठानका संस्थापक वीरेन्द्र थापाले कवि अभयलाई उक्त पुरकार प्रदान गरे । कवि अभय विराटनगरमा रही निरन्तर साहित्य साधनामा रहेका सृजनशील कवि हुन् ।

दुवै पुरस्कार सम्मान समाजद्वारा कवि शिरोमणि लेखनाथ पौड्याल १३९ औँ जन्म जयन्तीको अवसरमा आयोजित राष्ट्रिय खुल्ला कविता प्रतियोगिता तथा श्रष्टा सम्मान समारोहमा प्रदान गरिएको हो । समारोहको प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडा थिए । कार्यक्रम समाजका सचिव डा.महानन्द तिम्सिना र भवानीप्रसाद भट्टराईले सञ्चालन गरेका थिए ।

dharan-kabi-samman-1