सुनसरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट २०७९ अन्तर्गत हिसान क्रिकेटको उपाधि इटहरीको कस्तुरी कलेजले जितेको छ । इटहरी-९ स्थित जनता क्रिकेट पार्कमा आज बुधवार सम्पन्न फाइनलमा कोसी कलेज इटहरीलाई सात विकेटले पराजित गर्दै कस्तुरीले उपाधि जितेको हो ।

प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको कोसी कलेजले निर्धारित दश ओभरको खेलमा छ विकेट गुमाउँदै ७५ रन बनाएको थियो । कोशीका मनिष माझीले १६ रन बनाउँदा एमडी आरिकले १५ र अदित्य श्रेष्ठले १३ रन जोडे । प्रदीप निरौलाले चार र प्रकाश चौधरीले दुई रन बनाए । सन्देश कार्कीले एक रन मात्र जोडे ।

जवाफमा ७६ रनको विजयी लक्ष्य पछ्याएको कस्तुरी कलेजले आठ दशमलव तीन बलमा तीन विकेट गुमाउँदै लक्ष्य भेटाएको थियो । कस्तुरी कलेजको लागि म्यानअफ द म्याच अनुराग खत्रीले नटआउट १७ र सुमन मगरले १६ रनको पारी खेले । बिपन पोखरेलले १५ र आर्यन राईले ९ रन जोडे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा बेष्ट बलर कस्तुरीका अनुराग क्षेत्री र उत्कृष्ट ब्याष्टमेन सुष्मा कलेजका अनोज पाठक घोषित भए । माघ ९ गतेबाट सुरु भएको प्रतियोगितामा हिसान सुनसरीमा आबद्ध आठ वटा कलेजहरूको सहभागिता रहेको थियो । हिसान सुनसरीले यस पटक देखी प्रतियोगिता ड्यूज बलले खेलाएको हो ।