इटहरी : नेपाल टेलिभिजनको ३८ औँ र इटहरी च्यानलको तेस्रो वार्षिक उत्सवको अवसरमा विशेष कार्यक्रमको आयोजना भएको छ । एनटिभि इटहरी तेस्रोबर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतीथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।  
कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सरकारी टेलिभिजन भएपनि सरकारको खबरदारी कायम राख्नुपर्ने बताए । सरकारको स्वस्थ आलोचनाले मात्र पत्रकारिता र टेलिभिजनको धर्म निर्वाह हुने भन्दै उनले सरकारलाई सही बाटोमा हिँडाउन टेवा पुग्ने प्रस्ट पारे । 
पहिलो प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारीमा रहँदा आफूले नेपाल टेलिभिजन इटहरीलाई विशेष प्राथमिकतामा राखेको स्मरण गराए । आगामी दिनमा प्रदेश सरकार आम पत्रकारिता र त्यसमा पनि एनटिभि इटहरीको स्तरवृद्धीमा लागिपर्ने धारणा राखे । 
एनटिभिका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले कर्मचारी तथा रिपोर्टरलाई ऊर्जाशील भएर जिम्मेवारी बहन गर्न आग्रह गरे । नेपाल टेलिभिजनले क्षेत्रीय च्यानल मार्फत दुदराजका विषयवस्तु लाई बाहिर निकाल्न सफल भएको बताए । प्रदेश र स्थानीय सरकार सँगको समन्वयमा अझै प्रभावकारी कामको थालनी हुने उनको भनाई छ ।
इटहरी च्यानलका प्रमुख गजुरधन राईले जग्गा दाता प्रति कृतज्ञता ज्ञापन गरे । स्थानीय र प्रदेश सरकारको सहयोगमा धेरै कार्यक्रमहरू प्रसारण भइरहेको स्मरण गराउँदै अब निजी क्षेत्रसँगको समन्वयलाई पनि अगाडी बढाइने धारणा राखे । कार्यक्रमको बिषयबस्तुलाई थप निखार्दै लैजाने बताएका उनले समाजमा लुकेर बसेका विषयमा एनटिभि इटहरीले ध्यान दिने प्रस्ट पारे ।  
कार्यक्रममा जग्गादाता जुल्मी देवी थरुनी र श्रीफल चौधरीको सालिक अनावरण भएको छ। चौधरी दम्पतीले प्रदान गरेको १० कट्ठा जग्गामा एनटिभि इटहरीको भवन ३ वर्ष अगाडी उद्घाटन भएको थियो । सोही क्रममा इटहरी च्यानल भित्र भएको विभिन्न खेलकुद प्रतियोगीतामा विजयी टिमलाई सम्मान पत्र प्रदान गरिएको छ ।