धरान : आउँदो बिहीबार फागुन ११ गते देखी धरान रङ्गशालामा सुरु हुने ‘धरान एक्स्पो २०७९’मा पहिलो पटक ह्याङ्गर प्रविधिको प्रयोग हुँदै छ । अन्तर्राष्ट्रिय व्यापार मेलाहरूमा प्रयोग गरिने ह्याङ्गरमा रहने ७० वटा स्टलहरू विशाल डिपार्टमेन्ट स्टोरको रूपमा रहने छन् । 
धरानको आर्थिक गतिविधि चलायमान बनाउन, प्रदेश १ का उपभोक्ताहरूलाई स्थानिय देखी अन्तर्राष्ट्रिय उत्पादन सहज र सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो । एक्स्पोमा व्यापार गर्न चाहनेहरूका लागि स्टल बुकिङ खुला गरिएको आयोजक सुनसरी उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
एक्स्पोमा रैथाने, कृषि, औद्योगिक तथा घरेलु उत्पादन र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिइएको आयोजक सुनसरी उद्योग वाणिज्य सङ्घले बताएको छ । त्यसबाहेक, कृषि औजार, कपडा, छाला, विदेशी, घरेलु उपभोग्य, मेशिनरी, अटोमोबाइल, बैङ्किङ, वित्तीय एवम् बिमा, खाद्यान्न, खेल, साहित्य र भवन निर्माणका स्टल एक्स्पोमा सहभागी हुँदैछन ।
ह्याङ्गर भित्र ७० वटा स्टल रहने स्टल बुकिङका संयोजक विष्णु बरालले जानकारी दिए । यो प्रविधि धरानमा पहिलो पटक भित्र्याउन लागेको उनले बताए । २० लाख खर्च गरेर ल्याइएको ह्याङ्गर भित्रका स्टलहरू हावापानी, घामबाट सुरक्षित हुने तथा भवितव्यबाट हुने क्षति कम हुने उनको भनाई छ । धरानमा यो प्रविधि पहिलो पटक प्रयोग भएकाले आर्कषको केन्द्र हुनेछ । 
धरान र समग्र क्षेत्रमा सुस्ताएको नेपाली बजारलाई चलायमान बनाउन र प्रदेश १ को ऐतिहासिक सहर धरान र सुनसरी जिल्लाको समग्र व्यवसायीक प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना भइरहेको एक्सपोमा स्टल बुकिङ खुला गरिएको स्टल बुकिङ संयोजक बरालले जानकारी दिएका छन् । 
उनले भने ‘आम्दानी गर्नेभन्दा धरानले पनि अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी आयोजना गर्न सक्छ भन्ने सन्देश दिनु हाम्रो मुख्य उद्देश्य हो ।’ त्यसैले व्यवसायी, उत्पादक र व्यापारीलाई हाम्रो यस अभियानमा सहभागी भइदिन संयोजक बरालले अनुरोध गरे । 
स्टल निर्माणमा प्रति स्टल २६ हजार ५ सय खर्च भए पनि एक्स्पोमा सहभागी हुनेलाई मूल्य अभिवृद्धि करसहित ११ हजार तीन सय रुपैयाँमा स्टल उपलब्ध गराइने आयोजकले बताएको छ । एक्स्पोमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा साङ्गीतिक प्रस्तुति र रैथाने उत्पादनको प्रवर्द्धन गर्न पर्यटन गोष्ठीसहित प्राज्ञिक बहस आयोजना हुनेछ ।
धरान उपमहानगरपालिका र प्रदेश १ सरकारको सहयोगमा आयोजना हुने धरान एक्स्पो २०७९ को मुख्य प्रायोजक मितेरी डेभलपमेन्ट बैङ्क, सानिमा जनरल इन्स्योरेन्स, टुबोर्ग, हुन्डाई, निक, त्रिवेणी ग्रुप, यति कार्पेट लगायत रहेका छन् । 
दश दिनसम्म आयोजना हुने एक्स्पोलाई ३० हजार बढीले अवलोकन गर्ने र एक्स्पो अवधिभर १० करोड बढीको व्यापार हुने आयोजक सुनसरी उद्योग वाणिज्य सङ्घले  विश्वास राखेको छ ।