इटहरी : प्रदेशको न्वारन गर्न नसकेको आरोप बेहोरिरहेको प्रदेश सरकार र प्रदेशसभाले यस पटक नामको विषय टुङ्गो लगाउने भएको छ । बुधवार बस्ने प्रदेशसभा बैठकमा सांसदहरूले नाम प्रस्ताव गर्ने गरी प्रक्रिया अगाडी बढाइने भएको हो । प्रस्ताव भएका नाम मध्येबाट सर्वसम्मत वा मतदान प्रक्रियाबाट नामाङ्कन टुङ्गो लाग्ने संसद् सचिवालयले जनाएको छ । 
नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा, माओवादी केन्द्र लगायत दलहरू 'कोसी' नामको पक्षमा छन् । पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राईले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पार्टी भने बहुपहिचानको पक्षमा छ । कपुरी न्युज सँग कुरा गर्दै राईले कोसी वा सगरमाथामा किरात जोडेर नाम राख्नुपर्ने बताए । आफूहरू पहिला देखिनै यस विषयमा प्रस्ट भएको बताउँदै उनले सकेसम्म सहमति नभए बहुमतीय प्रक्रिया बाट नाम टुङ्गो लाग्ने प्रस्ट पारे । 
नेपाली काँग्रेसका सांसद राजकुमार खत्रीका अनुसार कोसीको पक्षमा लगभग सर्वसम्मत भइसकेको छ । सत्तारुढ दलका सांसदहरू पनि यस विषयमा लागी परिरहेकाले कोसी नै नाम हुनेमा उनले विश्वास व्यक्त गरे । 
प्रदेश सांसदले नाम 'कोसी'मा सहमति जनाउने गरी छलफल चलिरहेको एमाले प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए । ठुलो दलको तर्फबाट नाम प्रस्ताव गर्ने गरी दलहरू सहमतिमा जुटेको उनले जानकारी दिए । कुनै प्रस्ताव भएको नाममा विमति हुने सांसद वा दलले स्वतन्त्र रूपमा अर्को नाम प्रस्ताव गर्न पाउने उनको भनाई छ । दुई वा सोभन्दा बढी नाम प्रस्ताव भए बहुमतीय प्रक्रियाबाट टुङ्गो लाग्ने उनले प्रष्टपारे । 
यसअघि नाम राख्ने विषयमा पहिचानवादी दलहरूले आन्दोलन चर्काएका थिए । अघिल्लो प्रदेशसभामा प्रदेशको नाम कोसी, सगरमाथा, विराट, कञ्चनजङ्घामध्ये एउटा राख्ने गरी अन्तिमसम्म छलफल चलेको थियो । हालका मुख्यमन्त्री हिम्मतकुमार कार्कीको नेतृत्वमा अन्य दलहरूसँग वार्ता तथा छलफल गर्नका लागि समिति गठन भएको थियो । नेपाली काँग्रेसले पनि संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा समिति बनाएर छलफल चलाएपछि कुनै उपलब्धि हुन सकेन । ७ प्रदेशमध्ये ६ वटा प्रदेशको नामकरणको टुङ्गो लागि सकेको छ ।