धरान : प्रदेश १ को नामकरण कोसी राख्ने प्रदेश सभाको संसदीय प्रक्रिया चलिरहँदा नामकरण भइसकेपछि असहमत पक्ष, राजनैतिक दल, समूह तथा जाति सङ्घ, संस्थाबाट हुने विरोध धर्ना, जुलुसमा झडप हुनसक्ने भएकोले मोरङ जिल्ला प्रशासनले निषेधित क्षेत्रको घोषणा गरेको छ।
जिल्ला प्रशासन कार्यालयको सूचना अनुसार विराटनगर देवकोटा चौक देखी अस्पताल चौक सम्म, जिल्ला प्रशासन कार्यालय वरिपरि, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्री निवास वरपर जुलुस, भेला, र्‍याली, धर्ना जस्ता कार्यहरू गर्न निषेध गरिएको हो । उक्त क्षेत्रमा आज ३ बजे देखी अर्को आदेश नभए सम्म निषेध लागु गरिएको छ । 
प्रदेश सभाको कार्यसूची अनुसार आज प्रदेश सभामा प्रदेश १ को नाम कोसी राखियोस् भनी दर्ता गरिएको प्रस्तावमा छलफल हुने र राती ८ बजे भित्रमा सबै प्रक्रिया पुरा गराएर प्रस्ताव पारित गर्ने सरकारी योजना रहेको बुझिएको छ । कोसी नाम प्रदेश सभा सचिवालयमा बुधवार फागुन १७ गते प्रदेश सभा सदस्य रामबहादुर मगरले दर्ता गराएका हुन् । प्रस्तावको समर्थकमा भूमिप्रसाद राजवंशी रहेका छन् ।
प्रदेश १ सरकारले अप्रत्याशित रूपमा प्रदेश १ को नाम कोसी राख्ने प्रक्रिया एकै दिनमा टुङ्ग्याउने प्रक्रियाको विरोधमा पहिचान सहितको नामकरण पक्षधरहरूले आजै प्रदेश सभा अगाडि प्रदर्शन गर्दै छन् । लिम्बुवान, किरात संयुक्त सङ्घर्ष समितिले आकस्मिक रूपमै प्रदेश सभा अगाडि प्रदर्शन गर्दै छ ।
प्रदर्शनमा धरान, इटहरी, झापा, मोरङ, सुनसरीका पहिचान पक्षधरहरू सहभागी हुनेछन् । सङ्घर्ष समितिका सदस्य तथा किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेला लिम्बुले प्रदेश सरकारले आकस्मिक भन्दै षडयन्त्रपूर्वक गरेको नामाङ्कन प्रक्रियाको आकस्मिक रूपमै विरोधमा उत्रिनु परेको बताए ।
उनले भने ‘आजको विरोध प्रदर्शन हाम्रो संकेतिक विरोध हो, भोलि देखी आगामी आन्दोलनको कार्यक्रम तय गर्नेछौँ ।’ उनका अनुसार विरोध प्रदर्शनमा पहिचान सहितको नामकरण पक्षधर राजनीतिक दलका कार्यकर्ताहरूको पनि सहभागिता रहेन छ । विरोध प्रदर्शन शान्तिपूर्ण हुने उनले बताए । विरोध प्रदर्शनका लागि ब्यानर सहित चुम्लुङको समूह धरानबाट ३ बजे विराटनगर हिँडेको छ।
biratnagar-nisedaagya