वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत आइतबार भएको पहिलो खेलमा वडा नं ४ र वडा नं ९ बिच भएको खेल बराबरीमा टुङ्गिएको छ ।

दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा कुनै गोल गर्न नसक्दा दुवै टिमले १-१ अङ्क बाँडेका थिए । खेलमा म्यान अफ द म्याच वडा नं.९ का सन्तोष श्रेष्ठ घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।

त्यस्तै आइतबार भएको दोस्रो खेलमा वडा नं.७ विजयी भएको छ । वडा नं ६ लाई १ का विरुद्ध २ गोलले पराजित गर्दै वडा नं ७ ले प्रतियोगितामा ३ अङ्क जोड्न सफल बनेको छ ।

खेलको तेस्रो मिनेट जर्सी नं ११ का आदेश दर्नालले गोल गर्दै ७ लाई अग्रता दिलाएका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा पुनः वडा नं ७ ले गोल गरेको थियो ।

खेलको दोस्रो हाफको २१ मिनेटमा जर्सी नं १७ का ओमन राईले गोल गरेका थिए । खेलको निर्धारित समयको अन्तिम मिनेटमा वडा नं.६ का दिनेश राईले गोल गर्दै खेलमा फर्कने प्रयास गरे पनि त्यस पछि कुनै गोल नगर्न नसक्दा वडा नं ७ ले ३ अङ्क जोड्न सफल भएको छ ।

खेलमा वडा नं ७ का  गोल रक्षक राजाहाङ्ग राई म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए । वराहक्षेत्र नगरपालिकामा पहिलो पटक लिग फर्म्याटमा सुरु भएको प्रतियोगितामा  सोमबार पहिलो खेल वडा नं ८ र वडा नं १० तथा दोस्रो खेल वडा नं २ र वडा नं ११ का बिच हुनेछ ।

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं.७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा सुरु प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।