धरान : संसारमा नेपाल र नेपालीलाई वीरहरूको देश भनेर पहिलो पटक चिनाउने काम विश्व युद्धमा लडेका गोर्खाली सैनिकहरू हुन् । पहिलो विश्व युद्धको इतिहास मात्र छ । दोस्रो विश्व युद्धमा लडेका जीवित वीर गोर्खालीहरू अहिले पनि नेपालमा गुमनाम जीवन बिताइ रहेका पाइन्छन् ।
राज्यको ध्यान नगए पनि पछिल्लो समय उनीहरूलाई खोजेर सलाम र सम्मान गर्न स्थापित गोर्खा सिमेट्री ट्रष्ट नेपालले दोस्रो विश्व युद्धका ३ जना वीर गोर्खालीलाई शनिवार धरानमा सम्मान गरेको छ । प्रथम गोर्खा ट्रेल ब्लेजर दौडको समापन समारोहमा सन् २०१८ को दोस्रो विश्वका वीर सिपाही त्रय लाई सम्मानित गरेको हो ।
विश्व युद्धको विभिषिकासंग प्रत्यक्ष सामना गरेका तेह्रथुम घर भई हाल धरान-११ बस्दै आएका १०१ वर्षीय धनदल लिम्बू र सङ्खुवासभा घर भई हाल विराटनगर बस्दै आएका १०१ वर्षीय मगबहादुर लिम्बू सहित ओखलढुङ्गाका १०२ वर्षीय धनसिंह राई सम्मानित भएका हुन् । मगबहादुर भने बयोबृद्धताका कारण ओखलढुङ्गाबाट आउन सकेनन् ।
सम्मान समारोह धरान-१७ रत्न चोकबाट सुरु भई धरान-२० गोर्खा स्मृति पार्कमा भएको ट्रेइलब्लेजर दौड प्रतियोगिताको समापनको अवसरमा भएको हो । वीर गोर्खालीहरूलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सम्मान पत्र प्रदान गरे ।
गोर्खा सिमेट्री ट्रष्ट नेपाल वीर गोर्खालीहरूलाई खोजेर समाजमा चिनाउन र सम्मानित गर्न स्थापना भएको हो । ट्रष्टले युद्धमा वीरगति प्राप्त गरेको स्मृतिमा नेपालमा पहिलो पटक गोर्खा ट्रेइल ब्लेजर २०२३ रेस आयोजना गरेको हो । 
ट्रेइलबेजर दौडमा पुरुष तर्फ खोटाङका देवराज बस्नेत प्रथम भएका थिए । महिलातर्फ तर्फ धरानकी छेन्बीमाया राई प्रथम भइन् । साढे ८ किलोमिटरको दूरी देवराजले ३१ दशमलव २५ मिनेटमा पूरा गरेर प्रथम भएका हुन् ।महिला तर्फ छेन्बी मायाले उक्त दुरी ४३ दशमलव ०७ मिनेटमा पूरा गरेकी थिइन् । प्रथमद्वयले १५/१५ हजार रुपैयाँ, मेडल र ट्रफी प्राप्त गरे । पुरुषतर्फ दोस्रो धरानका प्रशान्त तामाङले ३१ दशमलव ४७ मिनेटमा दूरी पूरा गरेका थिए ।
तेस्रो खोटाङका जुनेश खड्काले ३२ दशमलव ३२ मिनेट र चौथो बिर्तामोडका समीर कन्दङ्वाले ३१ दबमलब ४९ मिनेटमा दूरी पुरा गरे । उनीहरूलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र ३ हजार रुपैयाँ मेडल र ट्रफी प्रदान गरियो ।
महिला तर्फ दोस्रो सङ्खुवासभाकी सुनकला राईले ४४ दशमलव १३ मिनेट, तेस्रो धरानकी इन्द्रकला लिम्बूले ४४ दशमलव ५२ मिनेट र चौथो धरानकी कल्पना राईले ४६ दशमलव ३१ मिनेटमा उक्त दुरी पुरा गरेकी थिइन् । उनीहरूलाई पनि १५, १०, ५ र ३ हजार रुपैयाँ मेडल र ट्रफी प्रदान गरियो । दौडमा २ सय जना सहभागी थिए ।