धरान : प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिलाई सङ्घीय सरकारसँग वार्ता गर्ने बारेमा कुनै जानकारी नभएको समितिको मुख्य घटक किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले बताएका छन् । 
आन्दोलन परिचालनको क्रममा धरानमा रहेका अध्यक्ष येक्तेनले हिजो १२ बजे राती फेसबुकमा उक्त कुरा उल्लेख गर्दै आन्दोलन हरेक दिन सशक्त र कडा रूपमा बढाउन आव्हान गरेका हुन् ।
संयुक्त सङ्घर्ष समिति अध्यक्ष मण्डलका सदस्य येक्तेनले लेखेका छन् ‘वार्ताको कुनै जानकारी सङ्घर्ष समितिलाई छैन । यी पूर्व घोषित आन्दोलनका कार्यक्रमहरू हरेक स्थानमा हरेक दिन सशक्त र अझ कडा रूपमा बढाउनुहुन सम्पूर्णमा अनुरोध गर्दछु । वार्ताको भ्रममा नपर्नुहुन अनुरोध सबै आन्दोलन्कर्मिहरुलाई गर्दछु ।’
यसअघि हिजो शनिवार संयुक्त सङ्घर्ष समितिको एक टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी ज्ञापन पत्र दिएको थियो ।
लगत्तै आन्दोलनमा मृत्यु भएका पदम लिम्बु लाजेहाङको घट्नाका बारेमा छानबिन गर्न सङ्घीय गृह मन्त्रालयले ७ सदस्यीय छानबिन समिति गठन गरेका समाचार भाइरल भएको थियो ।
यसैगरी सञ्चार माध्यममा आन्दोलनका मागहरूका बारेमा सङ्घीय सरकारले वार्ता टोल गठन गरेको समाचारहरू पनि प्रकाशन भएका थिए ।
चुम्लुङका केन्द्रीय महासचिव निरन्ती तुम्बापोले सङ्घीय सरकारले आन्दोलनकारी सङ्घ छलफल नगरी छानबिन समिति गठन गरेकोमा ध्यानाकर्षण गराएकी छिन् ।
उनले सामाजिक सञ्जालमा टिप्पणी गर्दै प्रश्न गरेकी छन् ‘प्रधानमन्त्री तथा गृहमन्त्री स्तरबाट आन्दोलनकारीलाई छानबिन समिति गठन गरिनु सरकार आफै पिडक, आफै बसेर कस्तो छानबिन गर्छ ?’
उनीहरूले वार्ताको भ्रममा नपरी यसअघि निर्धारित आन्दोलनका कार्यक्रमहरू निर्बाध रूपमा सशक्त ढङ्गले अघि बढाउन सम्पूर्ण आन्दोलनकारीहरूलाई आग्रह गरेका हुन् ।
Griha-mantralaya-patra