धरान : कोशी प्रदेश नामाङ्कन खारेजी, पूनःनामाकरणको माग सहित आन्दोलनरत पक्षले सङ्घीय सरकारद्वारा पदम लिम्बु लाजेहाङ मृत्युको छानबिन गर्न गठित समिति एक पक्षीय भएकाले असहमति जनाएको छ ।
प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले सोमवार प्रेस विज्ञप्ति मार्फत असहमति जनाउँदै स्वतन्त्र व्यक्तिहरू सहभागी गराई सर्वोच्च अदालतको पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन समिति पुनर्गठन गर्न माग गरेको हो । 
गएको चैत्र ५ गते विराटनगरमा भएको विरोध जनप्रदर्शनमा सुरक्षाकर्मीको कुटाइबाट घाइते भएका  पदम लिम्बु लाजेहाङको उपचारको क्रममा चैत्र १० गते मृत्यु भएको थियो । चैत ११ गते सङ्घीय गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । 
संयुक्त सङ्घर्ष समितिको विज्ञप्तिमा नेपाल सरकारको तर्फबाट सहसचिव स्तरको छानबिन समिति गठन भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शान्तिपूर्ण आन्दोलनमाथि भएको दमन र दोषीउपर छानबिन गर्न गठित समिति एकतर्फी भएकाले उक्त छानबिन समितिप्रति असहमति जनाइएको उल्लेख छ ।
समितिले पदम लिम्बु लाजेहाङलाई घाइते बनाइको स्थानलाई पदम लिम्बु लाजेहाङ चोक नामकरण गरी सो स्थानमा लाजेहाङको शालिक निर्माण गर्न सरकारसँग माग पनि गरेको छ । विज्ञप्तिमा प्रदेश सरकारले सहिद घोषणा नगरी विना कुनै मापदण्ड अपमानजनक किसिमले लाजेहाङको परिवारलाई प्रदेश सरकारले ३ लाख रुपैयाँ राहत दिने निर्णयप्रति खेद व्यक्त गरिएको छ । 
विज्ञप्तिमा ४ राजनैतिक दलका प्रदेश स्तरीय नेतृत्व तहबाट चैत १२ गते प्रकाशित वक्तव्यलाई  ‘जनताको माग र मुद्दालाई बेवास्ता गर्दै आन्दोलनलाई दिग्भ्रमित पार्ने’ भएको उल्लेख गर्दै ‘घोर भर्त्सना’ गरिएको छ ।
उक्त वक्तव्य नेकपा (एमाले) प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपाने, नेपाली काँग्रेस प्रदेश सभापति उद्धव थापा, नेकपा माओवादी केन्द्र प्रदेश सचिव गणेश उप्रेती र राप्रपा प्रदेश अध्यक्ष राम थापाले जारी गरेका थिए । 
संयुक्त सङ्घर्ष समितिको विज्ञप्तिमा भनिएको छ ‘परिवर्तन र पहिचानलाई आत्मसात् गर्न नमान्ने, जनताको माग र मुद्दालाई बेवास्ता गर्दै आन्दोलनलाई दिग्भ्रमित पार्न उर्दी जारी गर्दै सार्वभौम जनताले गरेको आन्दोलनलाई ‘सामाजिक सद्भावमा खलल पुग्ने तथा असंवैधानिक गतिविधि’ भनी बिल्ला भिराउने घोर अलोकतान्त्रिक, सामन्तवादी, असंवैधानिक र अत्यन्तै खेदजनकको घोर भर्त्सना गर्दै यस खाले हर्कत नगर्न नगराउन आग्रह गर्दछौँ ।’
यसैबिच सङ्घर्ष समितिले आज मङ्गलवार पनि विराटनगरमा विरोध प्रदर्शन गर्ने भएको छ । प्रदर्शन कोशी प्रदेश नाम खारेजी र लाजेहाङलाई सहिद घोषणा गर्न माग गर्दै आन्दोलनलाई निरन्तरता दिन आयोजना गरिने समितिले जनाएको छ ।
prem-yektan-PR