विराटनगर : सातौँ संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेलु टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । 
सहिद रङ्गशालामा बिहीबार ६:४५ बजे हुने फाइनलमा केरलाको लुका सकर पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टोली विराटनगर ६१ वर्षपछि दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा  छ । 
विराटनगरले पूर्व विजेता टिम नेपाल पुलिस र जावलाखेललाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिसलाई १–० गोलले र सेमिफाइनलमा जावलाखेललाई २-१ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।
यस्तै विराट गोल्डकपको पहिलो पटक भाग लिएको केरलाले क्वाटर फाइनलमा सङ्कटा क्लबलाई सडनडेथमा ८–७ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो । सेमिफाइनलमा केरालाले साबिक विजेता विभागीय टिम एपीएफलाई टाई ब्रेकरमा ४-२ गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो ।
केरलाको लुका सकर र घरेलु टिम विराटनगर बिच फुटबल मैदानमा पहिलोपल्ट भेट हुँदैछ । साबिक विजेता एपीएफ र लिग खेल्दै आएको ‘ए’ डिभिजन टिम सङ्कटाजस्तो सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले लुका सकरका खेलाडीमा मनोबल उच्च देखिन्छ ।
घरेलु टोलीले तेस्रो पटक आफूलाई प्रतियोगिताको उपाधि नजिक पुर्‍याएको हो ।  विराटनगर ६१ औँ वर्षपछि गोल्डकपको फाइनलमा पुगेको छ । यसअघि २०१८ सालमा तत्कालीन महेन्द्र गोल्डकपमा घरेलु टिम मोरङ ११ फाइनलमा पुगेर उपविजेता भएको थियो । त्यस बेलाको पहिलो उपाधि भारतको कलकत्ताले गोल्डकपको उपाधि जितेको थियो । २०१९ सालमा मोरङ ११ ले उपाधि हात पारेको थियो । त्यसपछि सातौँ संस्करणसम्म आइपुग्दा घरेलु टिम फाइनलमा पुगेको हो । गत वर्षको लिग विजेता मच्छिन्द्र क्लबको सेटलाई मैदानमा उतारेको आयोजक विराटनगरले सेमिफाइनल खेलबाट विमल घर्ती मगरलाई पनि मैदानमा ओरालेको छ । घरेलु टिमलाई फाइनलमा पुर्‍याउन विमलले महत्त्वपूर्ण भूमिका खेलका थिए । उनले निकालेको दुवै क्रस पासमा विराटनगरले सङ्कटलाई २–१ गोलेले पराजित गरेको थियो ।
विराटनगरमा बधुबार प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।
विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानेले घरेलु मैदानमा विराट गोल्डकपमा टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘विराट गोल्डकपको फाइनलमा पुगेका छौँ । उपाधि उचाल्ने प्रयास रहने छ,’ उनले भने,’ दुई लक्ष्य लिएका आएका थियौँ । एउटा उपाधि र अर्को फाइनल पुग्ने । एउटा पूरा भयो अर्को भोलि हुन्छ ।’ विराटनगर सिटीका  कप्तान विशाल श्रेष्ठले  घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । ‘लुका सकर राम्रो टिम हो । अग्ला कद भएका खेलाडी छन् । त्यही भएर हामी टेक्निकल खेल प्रदर्शन गर्नेछौ,’ उनले भने, ‘केरलाका अग्ला कद भएका खेलाडी भएकोले हामी ग्राउण्ड लेभलबाट खेल खेल्नेछौँ ।’
नेपालमा पहिलो गोल्डकप खेल्न आएको केरलाको लुका सकर क्लब  विराट गोल्डकपको फाइनलमा पुगेको हो । केरलाको प्रिमियमर लिगको पाँचौँ स्थानमा  लुका सकर रहेको छ । 
भारत केरलाको लुका सकर क्लबका प्रशिक्षक नभास नोकाले फाइनल भन्दा अगाडी जसरी हाम्रो खेलाडी खेल खेलेका थिए, त्यही अनुरूप फाइनल खेल्ने बताए ।  नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनले बताए । ‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ,’ उनले भने । साबिक विजेता एपीएफ र लिग खेल्दै आएको ए डिभिजनको टिम सङ्कटालाई  जितेको हुनाले फाइनलमा उपाधि जित्नेमा हामी ढुक्क रहेको उनको भनाई छ ।
 केरलाका कप्तान अर्सादले हामीले उत्कृष्ट खेल प्रदर्शन  गरेकोले नेपालको दर्शकको साथ र समर्थनले गोल्डकपको फाइनलको उपाधि जित्ने दाबी गरे ।  ‘हाम्रो खेलले नेपाली दर्शकको मन जित्नेमा आसावादी छौँ,’ उनले भने । 
चैत ९ देखि सुरु भएको रात्रिकालीन गोल्डकपको विजेताले २० लाख १५ हजार  र उपविजेता १० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रशिक्षक, गोलकिपर, मीड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५/२५ हजार रुपैयाँ पुरस्कार रहेको छ । २०१८ सालदेखि महेन्द्र गोल्डकपको नाममा सञ्चालन हुँदै आएको फुटबल प्रतियोगिता २०५७ सालदेखि विराट गोल्डकपको रूप परिवर्तन भएको थियो ।