धरान : राष्ट्रिय मानव अधिकार आयोगले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर मृत्यु भएका लाजेहाङ पदम लिम्बुको घटना सहितका विरोध प्रदर्शनहरूमा सुरक्षाकर्मीद्वारा गरिएका दमनका घट्नाहरुलाई मानवअधिकारको दृष्टिकोणले अनुगमन गरिरहेको जनाएको छ ।
विरोध प्रदर्शनका क्रममा घाइते भएका लाजेहाङको मृत्यु भएको साता दिन पछि राष्ट्रिय मानव अधिकार आयोगले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तिमा ‘कोशी प्रदेशको नामकरणको विषयलाई लिएर विरोधमा गरिएको आन्दोलनको क्रममा लाजेहाङ लिम्बु (पदम लिम्बु)का मृत्यु भएको’ उल्लेख गर्दै काठमाण्डौमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिने, मुख थुनिएको, ‘मिटरव्याज’ पीडितहरूको प्रदर्शन समेत आयोगको जनकारीमा आएको उल्लेख छ ।
मानवअधिकार आयोगले ‘कोशी प्रदेशमा ज्यान गुमाएका पदम लिम्बुको परिवारलाई क्षतिपूर्ति प्रदान गर्न, उनको मृत्युको घट्नामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन’ विज्ञप्ति मार्फत नेपाल सरकारलाई आग्रह गरेको छ ।  
‘यी घट्नाहरुले मानव अधिकारको स्वतन्त्र उपभोगमा चुनौती खडा भएको छ’ भन्दै ‘ती घट्नाहरुको आयोगले मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गरिरहेको छ’ भनी विज्ञप्ति मार्फत जनाइएको हो ।
आयोगले मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धरान १९, नेपालको संविधानको धारा १७ एवं नेपाल पक्ष भएको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६६ को धारा ९९ ले नागरिकको मर्यादित ढङ्गले विचार राख्ने र शान्तिपूर्ण गर्ने स्वतन्त्रताको प्रत्याभूति गरेको स्मरण गराउँदै भनेको छ ‘नागरिकको यी अधिकारहरूको सुनिश्चितता गर्नु राज्यको दायित्व हुन्छ ।’
NHRC_Nepal_Press