इटहरी : सङ्घीय सरकारले स्थानीय सरकारलाई दिने बजेट काट्दा निर्माणाधीन संरचनाको भुक्तानीमा समस्या आउने भएको छ। भोजपुरको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले स्थानीय सरकारको बजेट कटौती गर्दा ठेकेदार र उपभोक्ता समितिलाई दिने पैसा नहुने बताए । 
वित्तीय समानिकरण तर्फको ५० प्रतिशत कटौती गरेर पौवादुङमा गाउँपालिकामा आउने पाँच करोड रकम काटेको भन्दै आपत्ति जनाएका छन् । ‘पाँच करोड रकम भनेको गाउँपालिकाको विकास बजेटको आधा रकम हो, उनले भने, ‘यसरी आर्थिक वर्षको अन्त्यमा रकम कटौती गर्दा भइसकेका र विकासको अन्त्यमा पुगेका उपभोक्ता समिति, ठेकेदारलाई के जवाफ दिने ? यसरी खर्च कटौती गर्नु भनेको राज्यले जनतालाई ज्युँदै मार्नु हो, ज्युँदै जलाउनु हो ।’
गाउँपालिकाका धेरैजसो योजनाहरू सम्पन्न हुने चरणमा रहेकाले बजेट रोकिए अलपत्र पर्ने भन्दै रकम भुक्तानी गर्न नसक्दा गरिब मजदुरलाई समस्या हुने गुनासो गरे ।
गाउँपालिकामा सञ्चालित सम्पूर्ण योजनाहरू समयमै सम्झौता भएर काम भइरहेको राईले बताए । ‘काम सम्पन्न भएका ९० प्रतिशतभन्दा बढी योजनाहरूको भुक्तानी समेत भइसके । बाँकी योजनाहरूको काम अन्तिम चरणमा पुगेकाले रकम नआएमा उपभोक्ता समिति तथा मजदुरहरूको भुक्तानी रोकिन्छ । योजनासमेत अलपत्र हुने अवस्था छ । यो अवस्थामा आएर विकास बजेट रोक्का गर्नु आपत्तिजनक छ,’ उनले भने ।