धरान : नेपाली काँग्रेस भित्र नेतैपिच्छेको गुटबन्दीले सिर्जना गरेको निराशा, असन्तुष्टि तल्लो तहबाट विस्फोट हुन थालेको छ । यसको सुरुआत सुनसरी १ को धरानबाट भएको देखिन्छ ।

काँग्रेसका पूर्व धरान नगर सचिव राजेशमान श्रेष्ठ काँग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीको धरान नगर संयोजक बनेपछि तल्लो तहका कार्यकर्ताहरू खुलेर बोल्न थालेका छन् । फेसबुकमा प्रकट हुन थालेको असन्तुष्टि पदत्याग सम्म आइपुगेको छ ।

आज सोमवार काँग्रेस सुनसरी–१ प्रदेश (ख) प्रदेश समितिका सचिव विजय घिमिरेले पदत्याग गरेको घोषणा गरेका छन् । उनले फेसबुकमा लेखेका छन् ‘आजबाट नेपाली काँग्रेसको कुनै जिम्मेवारीमा नरहने जानकारी गराउँछु, तपाईँहरूले दिलाइ दिएको पद तपाइहरूलाई नै ससम्मान फिर्ता ।’

घिमिरे वडा १६ का हुन् । प्रदेश (ख) समितिका अध्यक्ष मुरारी भट्टराई पनि सोही वडाका वडा अध्यक्ष समेत हुन् । घिमिरेले फेसबुकमा घुर्की मात्र लगाएका हुनकी साँचै पदत्याग गरेका हुन भनी फोन सम्पर्क गर्दा उनले ‘क्षेत्रीय सचिवको पदत्याग गरेको’ पुष्टि गरे ।

पछिल्लो समय पार्टीका नेताहरूले काँग्रेस सच्चिनु पर्ने कुरा पटक पटक भन्दै आएका छन् । तर तल देखी माथि सम्मैका नेताहरू भाषणमा भनेको जस्तो व्यवहारमा सच्चिने नदेखिएपछि पदमा बस्नुको कुनै औचित्य नदेखेको उनले बताए ।

उनले भने ‘स्थानिय तहकै नेताहरू अझै पार्टीमा ठेकेदारी प्रथा चलाइरहेका छन्, कार्यकर्ता र पार्टीको पदमा बसेका साथीहरू समेत सम्म उनीहरूको सम्पर्क र सम्बन्ध छैन ।’ उनले वडा अध्यक्षमा निर्वाचित प्रदेश (ख)का अध्यक्ष मुरारी भट्टराईको कार्यशैलीप्रति गहिरो असन्तुष्टि प्रकट गरे ।

जनप्रतिनिधिका रूपमा निर्वाचित पार्टीका प्रतिनिधि स्थानिय नेताहरू कार्यकर्ता र जनताको कुरा भन्दा ठेकेदारहरूको कुरा सुन्छन्। पार्टी सङ्गठन, कार्यकर्ताहरूलाई परेको पिर मर्काप्रति उनीहरू कुनै चासो राख्दैनन् । उनले भने ‘यो काँग्रेस सच्चिने लक्षण होइन ।’

पार्टीको सचिव पदमा बसेर काम गर्दा नेतृत्वबाटै सहयोग नभएको उनले आरोप लगाए । कार्यकर्तालाई आइपरेका समस्याहरूमा सहयोग गर्न पार्टी नेताहरूले कुनै चासो नदेखाउँदा आफूलाई आर्थिक भार समेत परेको उनले बताए । भने ‘यसरी कोही पनि इमानदार कार्यकर्ता पदमा बसी रहन सक्तैन ।’

उनले क्षेत्रीय सचिव पदत्याग गरे पनि काँग्रेसको क्रियाशील सदस्य नत्याग्ने बताए । काङ्ग्रेसमै रहेर काँग्रेस सच्याउन आन्तरिक सङ्घर्ष गरिरहने प्रतिबद्धता उनले प्रकट गरे । काँग्रेस सच्याउन गलत, खराब प्रवृत्ति विरुद्ध अब बोल्नु पर्ने बताउँदै उनले भने ‘काँग्रेसका व्यक्ति खराब छ भने व्यक्तिकै आलोचना विरोध गर्न अब कार्यकर्ताले डराएर बस्नु हुँदैन ।’ नभए पार्टी नसच्चिने उनको भनाई छ ।

क्षेत्रीय सचिव घिमिरेको कडा तेवरले काँग्रेस वृत्तमा तरङ्ग पैदा गरेको छ । उनको फेसबुक स्ट्याटसमा कमेन्ट गर्दै अग्रज स्थानिय काँग्रेस नेताहरूले पनि चिन्ता जनाएका छन् । सबैले उनीप्रति सहानुभूति प्रकट गर्दै पार्टी परित्याग नगर्न आग्रह गरेका छन् ।

यसअघि काँग्रेसका क्षेत्रीय समिति सदस्य, महाधिवेशन प्रतिनिधि रहिसकेका सागर प्रसाईँ, वडा ९ का अगुवा युवा नेता निर्मल आचार्यले काँग्रेस परित्याग गरेको बताई सकेका छन् । उनीहरूको बहिर्गमनलाई काँग्रेसमा सानो झटका मात्र मानिएको छ । तर त्यसले काँग्रेस कार्यकर्ताहरूमा विद्यामान असन्तुष्टिलाई मलजल गरेको घिमिरेको पदत्यागबाट पुष्टि हुन्छ ।