इटहरी : सेन्टर फर डेमोक्रेटीक इन्जीनियर्स नेपाल (सिडेन) कोशी प्रदेश सभापतिमा इटहरी र विराटनगरका युवा उम्मेदवार बिच प्रतिस्पर्धा हुने भएको छ । इटहरीका विकाश भट्टराई र विराटनगरका सुधीर यादव बिच रोचक चुनावी प्रतिस्पर्धा हुने भएको हो ।

जेठ १३ गते विराटनगरमा हुने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएको छ । ३२७ मतदाता रहेको सिडेन कोशी प्रदेशले निर्वाचन मार्फत ५ पदाधिकारी र १० सदस्य सहित १५ सदस्यीय कार्यसमिति चयन गर्ने भएको छ ।

यादवको प्यानलबाट कोषाध्यक्षका उम्मेदवार रहेको शरद कुमार झा र भट्टराई प्यानलका सहसचिव उम्मेदवार सचिन्द्र यादव यस अघि नै सर्वसम्मत चयन भएका छन् ।

यादव प्यानलबाट उपसभापतिमा सुवर्ण बस्नेत, सचिव नूतन राज लुइँटेल चुनावी प्रतिस्पर्धामा छन् । सदस्यहरूमा जय राजवंशी, मनिष कुमार झा, नवीन ढुङ्गाना, घनश्याम चौधरी र दुर्गा खत्री उम्मेदवार बनेका छन् ।

जेठ १० गते भएको उम्मेदवारी दर्तामा भट्टराई नेतृत्वको प्यानलबाट उपसभापति सुवास कुमार कर्ण, सचिव अविनाश ठाकुरले प्रतिस्पर्धा गर्ने भएका छन् । सदस्यहरूमा मिलन श्रेष्ठ, सञ्जीव काफले, विक्रम दाहाल, गिनिसराज भण्डारी, भवनाथ यादव, देव नारायण चौधरी, सोनु कुमार पोदार, सुमित कुमार साह, र नवनीत तिवारी छन् ।

नेपाली काँग्रेसको सुवेच्छुक संस्था सिडेन पछिल्लो समय इन्जिनियरको सवालमा सक्रिय बन्दै गएको छ । दुवै उम्मेदवारले चुनावी प्रचारलाई तीव्र बनाएका छन्।