धरान : धरानमा नेपाली काँग्रेस भित्र चुनावको अघि पछि भएको आपसी तिक्तता र गुटबन्दीलाई त्यागेर अघि बढ्ने, असन्तुष्टिहरूबारे आपसमा छलफल गरी अग्रजहरूको सुझाव लिने प्रक्रिया सुरु गरिएको छ ।

काँग्रेसका नेताहरूकै बिच गुटबन्दीले बढाएको दुरीबाट कार्यकर्तामा नकारात्मक प्रभाव पारेको अनुभव गर्न थालिएपछि काँग्रेस धरान उपमहानगर समितिले वर्तमान स्थितिको समीक्षा गर्न आज अन्तरक्रिया आयोजना गरेको हो ।

अन्तरक्रियामा पार्टीको माथिल्लो तहबाटै गुटबन्दी बढेको, नेताहरूको छवि धमिलिएकाले सुधारका लागि नेतृत्व परिवर्तन हुनुपर्ने सम्मका कुरा सहभागीहरूले उठाएका थिए । उनीहरूले भ्रष्टाचारीलाई कारबाही हुनुपर्ने माग समेत गरे ।

पार्टीमा बढेको गुटबन्दीले पाखा लागेकाहरूलाई समेटिनु पर्ने, कार्यकर्ताहरूका कुरा सुनिनु पर्ने र अगुवाहरू सच्चिनु पर्ने उनीहरूको भनाई थियो । धरानमा अहिले बढेको असन्तुष्टि काँग्रेस भित्रको गुटबन्दीकै परिणाम भएको उनीहरूले बताए ।

अन्तरक्रियामा पार्टीका अग्रज स्थानिय नेताहरू, भातृसंस्थाका अगुवाहरू र पार्टी नगर, जिल्ला, सुनसरी-१ का पदाधिकारी लगायत कुल ९४ जना सहभागी भएका थिए । दुई दर्जन बढी अगुवाहरूले सुझाव सहितको आ-आफ्नो अभिमत प्रकट गरेका थिए ।

काँग्रेस प्रदेश समितिका महामन्त्री उमेश थापा, जिल्ला सचिव माधव घिसिङ, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, महासमिति सदस्य विनोदकुमार राई, पर्वत राई, पूर्व प्रदेश प्रमुख गोबिन्द सुब्बा, पूर्व क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, गिरिराज आचार्य, आनन्द आचार्य लगायत सहभागी थिए ।

काँग्रेस धरान उपमहानगर सभापति श्याम पोखरेलले स्थानिय, प्रदेश र संसदीय चुनावपछि धरानमा काँग्रेसीहरू बिच तिक्तता बढेकोले त्यसलाई अन्त्य गर्दै एकजुट भएर अघि बढ्न आपसी खुला छलफलका लागि अन्तरक्रिया आयोजना गरिएको बताए ।

उनले भने ‘हिजो जे भयो, त्यसलाई बिर्सेर एक अर्कालाई औँलो नउठाई तिक्तता र गुटबन्दीलाई त्यागेर एकजुट हुन यो भेला बोलाइएको हो ।’ अन्तरक्रियामा धरानमा पछिल्लो समय पार्टी त्यागेर जानेहरूका पनि बारेमा साहभागीहरुले चर्चा गरे ।

महासमिति सदस्य विनोदकुमार राईले पार्टीलाई सुदृढ बनाउन तत्काल कार्यकर्ता माझ जानुपर्ने, उनीहरूका कुरा सुनेर पार्टी पदाधिकारीहरू सच्चिनु पर्ने कुरा बताए । पार्टीमा आपसी तिक्तता, गुटबन्दी बढेको कुराले कार्यकर्तामा नराम्रो सन्देश गएकाले त्यसको उपयोग अवसरवादीहरूले गर्न लागेको उनको भनाई थियो ।

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले विचार बुझेर नलागेका अवसरवादीहरूले पार्टी छोडेको बताए । बुद्धिजीवी गोकुलप्रसाद श्रेष्ठले चुनावका बेलाका धेरै गुनासाहरू नभएका होइन अब त्यसलाई बिर्सेर अघि बढ्नु पर्ने अवस्था आएको बताए । पुराना काँग्रेस अगुवा कृष्णप्रसाद सुवेदीले भने ‘पहिले नेताहरू सुध्रिनुस्, त्यस पछि हामी सुध्रिन्छौ ।’

congress-chalfal-3