धरान : साँगुरी धारापानी समाजको मुख्य आयोजना र धरान उपमहानगरपालिका उपमेयर कोषको सहयोगमा सञ्चालित २८ दिने ब्युटी पार्लर तालिमको समापन भएको छ ।

तालिम समापन भएसँगै १६ जना महिलाहरू आत्मनिर्भर र आर्यआर्जनको बाटोमा लागेका छन् ।

सोमबार सुनसरी उद्योग वाणिज्य सङ्घको हलमा एक कार्यक्रमका बिच साँगुरी धारापानी समाजको मुख्य आयोजना र धरान उपमहानगरपालिका उपमेयर कोषको सहयोगमा सञ्चालित २८ दिने ब्युटी पार्लर तालिमको समापन भएको हो. । ब्युटी पार्लर सम्बन्धी तालिममा सहभागी १६ जना महिलाहरू आत्मनिर्भर र आर्यआर्जनको बाटोमा लागेका हुन् ।

प्रमुख अतिथि धरान उपमहानगरपालिका उप मेयर अईन्द्र विक्रम बेघाले तालिमको मुख्य उद्देश्य स्वरोजगार बनाउनु रहेको बताए । ‘हातमा सीप भएपछि मात्रै स्वरोजगार भइन्छ । पार्लर खोल्नुहोस् र बाँकी जीवन अघि बढोस् । उत्तरोत्तर प्रगति होस् । बधाई तथा शुभकामना छ ।’उपमेयर बेघाले भने ।

तालिमपछि स्वरोजगारी हुने अवसरको ढोका खुलेको जिकिर गर्दै साँगुरी धारापानी समाजका संरक्षक तथा नेपाली काँग्रेस धरानका नेता किशोर राईले उपमहानगरपालिकाले ५ वर्षसम्म बिना ब्याज पुँजी लगानी गरिनुपर्ने बताए । पछिल्लो समय ब्युटी पार्लर तालिमको महत्त्व झन् बढ्दै गएको उनले दाबीसमेत गरे । सीप सिकेपछि बजारको अवसर र स्थायी रोजगारीको सुनिश्चितताका लागि स्थानीय सरकार तथा जुनसुकै सङ्घसंस्थाले पहल गर्नुपर्ने बताए । अहिले मुनाफामुखी व्यवसायमा सर्वसाधारणलाई उन्मुख बनाउन सके अर्थतन्त्रको जग बलियो बनाउन सकिने उनले धारणा राखे ।  

समापन कार्यक्रममा सहभागी अतिथिहरूले तालिमको सदुपयोग गर्न आग्रह गरे । आत्मनिर्भर र स्वरोजगार बन्न तालिम फलदायी हुने अतिथिहरूले जोड दिए । महिलाहरू समक्ष बन्न समेत ब्युटी पार्लर तालिमले सघाउ पुर्याउने उनीहरूको भनाई थियो ।

२८ दिने ब्युटी पार्लर तालिम जीविकोपार्जनको माध्यम हुन सक्नुपर्ने समापन कार्यक्रमकी सभापति तथा साँगुरी धारापानी समाजकी अध्यक्ष गणेशकुमारी राईले बताइन् ।

तालिम गत वैशाख २६ गतेदेखि सञ्चालन भएको थियो । सुरुवातमा १७ जना प्रशिक्षार्थी रहेकोमा १ जना अस्वस्थका कारण सहभागी हुन नसकेपछि १६ जनाले तालिममा सहभागिता जनाएका थिए । प्रशिक्षकका रूपमा द ब्युटी हबकी संस्थापक तथा सञ्चालक सुदेश्ना राईले सहजीकरण गरेकी थिइन् ।

beauti-talim-samapan