वराहक्षेत्र : वराहक्षेत्र नगर अस्पतालले सेवाग्राहीको चाप बढेसँगै भौतिक संरचना निर्माणलाई तीव्रता दिएको छ भने जनशक्ति समेत बढाउन थालेको छ।
वराहक्षेत्र नगरपालिकाद्वारा सञ्चालित अस्पतालको प्रशासन र व्यवस्थापन सबलपछि भौतिक संरचना भवन र चिकित्सक, विभिन्न विद्याका स्वास्थ्यकर्मीको संङख्या बढाउन थालेको हो ।
करिब १० महिना अगाडिसम्म जर्जर अवस्थामा रहेका अस्पतालले विभिन्न सेवाहरू बढाउने लक्ष्य सहित भौतिक संरचना निर्माण र जनशक्ति थप्ने योजना बनाएको अस्पतालका सहायक व्यवस्थापक दिवस विष्टको भनाई छ।
हाल अस्पतालकै आम्दानीबाट फार्मेसी भवन निर्माण भइरहेको तथा अस्पतालले मेडिकल अधिकृत, अनमि, ल्याब टेक्निसियन, फिजियोथेरापी सहायक, ल्याब असिस्टेशन, फार्मेसी सहायक लगाएका कर्मचारीको माग गरेको विष्टले बताए । सबै कर्मचारीलाई अस्पतालकै आम्दानीबाट सेवा सुविधा दिन सकिने भएकाले जनशक्तिको माग गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले बताए ।
हाल अस्पतालमा दैनिक रूपमा १ सय ७५ देखि २ सय २५ को संङख्यामा सेवाग्राहीहरू आउने गरेका छन् । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म उपलब्ध हुँदै आएको ओपिडी सेवालाई बढाएर बिहान ७ बजेदेखि बेलुकाको ७ बजे सम्म र सार्वजनिक बिदाको दिनमा समेत सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
हाल अस्पतालले वर्षको ३६५ दिनै बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म चिकित्सकद्वारा ओपिडी सेवा र आकस्मिक सेवा दिँदै आइरहेको छ।
२४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्स-रे, फिजियोथेरापी सेवा, हप्तामा दुई दिन आइतबार र बुधवार आँखा उपचार सेवा, हप्ताको दुई दिन सोमबार र बिहीबारका दिन भिडियो एक्स-रे र सबै सरकारी नियमित सेवाहरू यथावत् रूपमा सञ्चालन भइरहेको छ । हाल अस्पतालमा ३ जना डाक्टर, २ जना एचए त्यस्तै अन्य स्वास्थ्यकर्मी र कर्मचारी गरेर ४१ जना जनशक्ति रहेको सहायक व्यवस्थापक दिवस बिष्टले जानकारी दिए ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
                 
                 
                 
         
        















 
         
        

















































 
         
         
        