इटहरी : विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २८ करोड ५० लाखको बजेट प्रस्तुत गरेको छ । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले बजेट नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरेकी हुन् ।

महानगरले चालू खर्चतर्फ १ अर्ब ५९ करोड ८३ लाख २५ हजार, पूँजिगततर्फ १ अर्ब ७१ करोड ६६ लाख ७५ हजार अनुमानित बजेट प्रस्तुत गरेको छ । जुन चालु आर्थिक वर्ष भन्दा ३४ करोड ३० लाख कम हो । चालु आर्थिक वर्षमा ३ अर्ब ६२ करोड ८० लाख बजेट विनियोजन भएको थियो ।

अर्थतन्त्रमा आएको समस्या देखाउँदै महानगरले बजेटको आकार घटाएको हो । महानगरले वित्तीय समानिकरण तर्फ सङ्घीय सरकार ३४ करोड, प्रदेश सरकार २ करोड ४० लाख ८८ हजार प्राप्त गर्ने भएको छ।

राजश्व बाँडफाँड तर्फ मुल्य अभिबृद्धी कर र अन्तःशुल्क २० करोड ७४ लाख, घरजग्गा रजिष्ट्रेशन दस्तुर ५५ करोड, सवारीसाधन कर ४ करोड ८ लाख ५६ हजार, मनोरञ्जन कर ४१ लाख आम्दानी गर्ने अनुमान गरिएको छ र आन्तरिक राजश्वतर्फ ९९ करोड ५० लाख अनुमान गरिएको छ ।

सङ्घीय सरकार सशर्त अनुदान ७७ लाख ७८ हजार, विशेष अनुदान ६ करोड, समपूरकतर्फ ६० लाख तथा प्रदेश सरकारको सशर्त अनुदान चालू १ करोड ३३ लाख र पुँजीगत ७८ लाख ७५ हजार अनुमानित आय अनुमान गरिएको छ । यसैगरी अन्य सङ्घसंस्था ३ करोड, आन्तरिक ऋण नगर विकास कोष १० करोड, जनसहभागिता २ करोड रहेको छ ।